एमाले मुख्यालयमा राखियो देशकै ठूलो कम्युनिस्ट झण्डा

सोमबार, ३० भदौ २०८२

काठमाडौं : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले एमाले मुख्यालय च्यासलमा देशकै सबैभन्दा ठूलो झण्डा राखेको छ । रातो पृष्ठभूमिमा सुनौलो हँसिया–हथौडा अङ्कित उक्त झण्डा ४५ फिट लम्बाइ र ४५ फिट चौडाइमा तयार पारिएको हो ।

सोमबार बिहान करिब सय जना जिफन्टका नेता–कार्यकर्ताको सहभागितामा झण्डा राखिएको अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले अनुमोदन गरेको झण्डा आज औपचारिक रूपमा पार्टी मुख्यालयमा राखिएको हो ।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालय तोडफोड र आगजनीमा परेको थियो । त्यसपछि कार्यालयमा आवतजावत बढ्दै जाँदा पार्टीको प्रतीक झण्डा र ब्यानर नदेखिएको भन्दै नयाँ झण्डा राखिएको श्रेष्ठले बताए । झण्डा कार्यालयको पूर्वतर्फ सबैले देख्ने गरी र भवनको तेस्रो तलासम्म प्रस्ट देखिने गरी राखिएको छ ।

सोही दिन जिफन्ट टोलीले पार्टी महासचिव शंकर पोखरेलको घरमा पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । आन्दोलनका क्रममा क्षति पुगेको घरभित्र रहेका जलेका र फुटेका सामग्री करिब तीन घण्टासम्म सफा गरिएको श्रेष्ठले बताए । उनका अनुसार अन्य पार्टी नेताहरूका घर र कार्यालयमा पनि सरसफाइ अभियान सञ्चालन गरिनेछ ।

त्यस्तै मजदुर नेता भीमज्वाला राईले नेपाली समाजको विचारको जगमा उभिएको एमालेलाई शारीरिक आक्रमणले कुनै असर नगर्ने बताएका छन् । बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले जेन–जी आन्दोलन संविधान र सात दशक लामो जनसङ्घर्षका उपलब्धि विरुद्धको भ्रमको परिणाम भएको टिप्पणी गरे ।

uml jhanda 1
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार