विराटनगरको ऐतिहासिक कोइराला निवास अराजकको निसानामा, राजनीतिक धरोहर खरानी

भित्रका सबै सामग्री खरानीमा परिणत भएका छन्।

सोमबार, ३० भदौ २०८२

विराटनगर : जेन–जी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा विराटनगरस्थित ऐतिहासिक कोइराला निवास जलेर खरानी भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको निवास मानिने यस घरलाई अराजक समूहले लक्षित गर्दा नेपालको लोकतान्त्रिक आन्दोलनको एक महत्वपूर्ण धरोहर नै नष्ट भएको हो।

कृष्णप्रसाद कोइरालाले निर्माण गरेको १२० वर्षभन्दा पुरानो उक्त घरले राणा शासन फाल्नेदेखि राजा हटाउने आन्दोलनसम्मको साक्षी बोकेको थियो। यही घरबाट देशले तीन प्रधानमन्त्री— मातृकाप्रसाद, विश्वेश्वरप्रसाद (बीपी) र गिरिजाप्रसाद कोइरालालाई जन्म दिएको थियो। कांग्रेस कार्यकर्ताहरूका लागि कोइराला निवास ‘तीर्थस्थल’ सरहको ठाउँ मानिन्थ्यो।

कांग्रेस नेतृ विजयता अधिकारीले घर जल्दै गरेको दृश्य आँखा अगाडि देखे पनि केही गर्न नसकेको बताइन्। “यो हाम्रो राष्ट्रको धरोहर थियो। आँखै अगाडि जल्यो तर प्रहरी र दमकल समयमै आएनन्,” उनले भनिन्। त्यस्तै, विराटनगर महानगरपालिकाकी पूर्व उपमेयर इन्दिरा कार्कीले कोइराला निवासलाई ‘मन्दिर सरहको स्थल’ भन्दै गहिरो दुःख व्यक्त गरिन्।

राजनीतिक इतिहास बोकेको मूल घर पूर्ण रूपमा जलेर खण्डहर बनेको छ भने पछिल्लो संरचना भने अंशतः बाँकी रहेको छ। तर, भित्रका सबै सामग्री खरानीमा परिणत भएका छन्।

कोइराला परिवारमा अंशबन्डापछि यो घर डा. शेखर कोइरालाको भागमा परेको थियो। उनले पुनर्निर्माण प्रक्रिया सुरु गरिसकेका छन्। गिरिजाप्रसाद कोइरालाले थपेको संरचनाको मर्मत र पुनर्निर्माणका लागि कामदार खटाइएको छ।

राजनीतिक चेतना र आन्दोलनको केन्द्र बनेको यो निवास जलेपछि कांग्रेस भित्र मात्र होइन, देशभरैको लोकतान्त्रिक इतिहासप्रेमीहरू स्तब्ध बनेका छन्। यस घटनाले नेपाली राजनीति र इतिहाससँग जोडिएका भौतिक सम्पदा सुरक्षित गर्ने सवाललाई फेरि एकपटक गम्भीर ढंगले सतहमा ल्याइदिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार