काठमाडौँ : जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ बानेश्वर शाखाबाट करोडौँ नगद र सुन लुटिएको खुलेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमार्फत घटनाबारे जानकारी दिँदै शाखाबाट करिब ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको पुष्टि गरेका हुन् ।
उनका अनुसार लुटिएको सम्पत्ति करिब ३७–३८ करोड रुपैयाँ बराबरको छ ।
गभर्नर पौडेलले भने, “एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद् भवनमै रहेको राष्ट्रिय वाणिज्य बैङ्कको शाखाबाट ठूलो मात्रामा नगद र सुन चोरी भएको छ ।”
उनका अनुसार उक्त लुटपाटबारे बैङ्कको सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ । जेनजी आन्दोलनको हिंसात्मक घटनामा देशभर ६८ वटा बैङ्क शाखा कार्यालयहरूमा आक्रमण भएको थियो ।
त्यस्तै ६९ वटा एटिएममा आंशिक क्षति पुगेको गभर्नर पौडेलले जानकारी दिएका छन् । तर उनले पेमेन्ट सिस्टम भने निरन्तर सञ्चालनमा रहेको र समग्र बैंकिङ क्षेत्र सक्रिय रूपमा तैनाथ रहेकाले प्रणालीगत अवरोध नआएको स्पष्ट पारे ।
गभर्नर पौडेलले आन्दोलनका क्रममा पेमेन्ट प्रणालीलाई जोगाउन राष्ट्र बैङ्क विशेष सतर्कताका साथ लागिपरेको समेत बताएका छन् ।
प्रतिक्रिया