काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले हाल सामाजिक सञ्जालमा फैलिएका देउवा निवाससम्बन्धी समाचारहरूलाई कपोकल्पित र भ्रामक रहेको स्पष्ट पारेको छ ।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते देउवाको निवासमा भएको आक्रमणलाई जघन्य आपराधिक घटना बताउँदै सचिवालयले त्यसपछि विभिन्न सामाजिक सञ्जालमा “निवासभित्र पैसाको सुरूङ्ग, जलेका नोट, भूमिगत कोठा“ जस्ता हल्ला पूर्णतः असत्य भएको जनाएको हो ।
देउवाका स्वकीय सचिव भानु देउवाले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “घरभित्रको अण्डर ग्राउन्ड ट्याङ्कीलाई गलत व्याख्या गरिएको हो, त्यो सामान्य पानी ट्याङ्की मात्र हो।” उनले विभिन्न समयमा जलेका नोटका दृश्यलाई जोडेर सम्पादन गरी यूट्युब र सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीमा कुनै सत्यता नभएको प्रष्ट्याए ।
सभापति देउवाले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, आन्दोलनलाई धमिलो पार्ने नियतले हिंसा र आपराधिक गतिविधि गर्ने समूहको भत्र्सना गर्दै नेपाली जनता तथा कार्यकर्तालाई भ्रामक प्रचारप्रति विश्वास नगर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया