राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

शुक्रबार, ०३ असोज २०८२

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन्।

संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई रणनीतिक रूपमा असफल बनाउन खोज्ने प्रयास भइरहेको भन्दै राष्ट्रिय एकता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे।

उहाँले संविधान निर्माणमा जनयुद्धको योगदानलाई स्मरण गर्दै भने, “७० वर्षदेखि थाती रहेको संविधान सभाबाट संविधान निर्माण जनयुद्धका क्रममा हजारौंको बलिदानबिना सम्भव हुने थिएन।”

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक प्रतिनिधित्वजस्ता विषय संविधानमा समावेश हुनुपर्नेमा आफूहरूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै हालको परिस्थितिमा माओवादी विचारको महत्व बढेको दाबी गरे।

हालै सम्पन्न जेन्जी आन्दोलनको प्रसंग उठाउँदै उनले सरकारको बल प्रयोगप्रति आपत्ति जनाए र माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गरेको स्मरण गराए। आन्दोलनमा उठेका माग सम्बोधन गर्दै संविधानको रक्षा र राष्ट्रपतिको गरिमा कायम राख्ने खालको राजनीतिक विकल्प प्रस्तुत गरेको पनि उनले बताए।

“हामीले जेनजीहरूको बलिदानको सम्मान गर्दै संविधानको रक्षा गर्ने खालको विकल्प प्रस्तुत गरेका हौँ। अन्तरिम सरकार र निर्वाचनको तोकिएको मिति अनुसार अघि बढ्नुपर्छ,” अध्यक्ष प्रचण्डले भने।

उनले थपे, “नेपालले यति ठूलो चुनौती कहिल्यै भोगेको थिएन। पूर्खाले मिहिनेत गरेर जोगाएको राष्ट्र हामीले बचाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न अहिले हाम्रो अगाडि छ। त्यसैले सम्पूर्ण राष्ट्रप्रेमीहरू एकताबद्ध हुनु जरुरी छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार