विराटनगर : भदौ २४ गतेको आगजनीले मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको न्यायिक धरोहर खरानी बनाइदियो। करिब ६ दशकको इतिहास बोकेको अभिलेख शाखा राख राखी नभई खरानीमा परिणत भयो। तर, आश्चर्यजनक रूपमा सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका चूणमणि उप्रेती ‘गोरे’को मुद्दा भने सुरक्षित रह्यो।
मोरङ जिल्ला अदालतमा १ लाख ५० हजारमध्ये १ लाख ४५ हजार मिसिल जलेर नष्ट भए। पुराना फैसला, राजस्व, सवारीसाधन सम्बन्धी फाइलदेखि लिएर मुद्दाका प्रमाणपत्र खरानी बने। जोगिएका करिब ४ हजार मिसिलमध्ये २ हजार ५ सय अझै विचाराधीन अवस्थामा थिए।
न्यायाधीशका गाडी, अदालतका चार पांग्रे सवारी, मुद्दाको प्रमाणका रूपमा राखिएका मोटरसाइकल र कर्मचारीका निजी सवारीसाधन समेत जले। जसले गर्दा अदालत मात्र होइन, न्याय खोजिरहेका हजारौँ नागरिकको भरोसा पनि ध्वस्त भयो।
उच्च अदालत विराटनगरमा करिब ६५ हजार मिसिलमध्ये अधिकांश नष्ट भए पनि अभियान फाँटमा प्राथमिकताका साथ राखिएका करिब १ हजार मिसिल भने जोगिए। त्यही सुरक्षित फाइलभित्र चर्चित ‘गोरे प्रकरण’ समेत बचेको छ।
रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार २ वर्ष नाघेका मुद्दालाई प्राथमिकता दिई सुरक्षित राखिएकाले संवेदनशील प्रकरण सुरक्षित हुन सके। तर, अदालतका ११ सरकारी गाडी, २ निजी गाडी र अन्य मोटरसाइकलहरू भने जले।
जिल्ला र उच्च अदालत दुबैमा सामान्यदेखि संवेदनशील मुद्दासम्मका मिसिल खरानी हुँदा प्रमाण, बयान र आदेशका प्रतिलिपिहरु नष्ट भएका छन्। यसले मुद्दाको भविष्य मात्र होइन, न्याय पाउने अधिकारमै ठूलो प्रश्नचिन्ह खडा गरेको छ।
न्यायको घर खरानी हुँदा पनि ‘गोरे’ प्रकरणजस्ता केही संवेदनशील मुद्दा सुरक्षित रहनु भने न्यायिक भविष्यका लागि आशाको किरण बनेको छ। तर, ६ दशकको धरोहर नष्ट हुनु न्याय प्रणाली र नागरिक विश्वास दुवैका लागि असह्य चोट बनेको छ।
प्रतिक्रिया