काठमाडौँ : नेपालका हजारौँ युवा विदेशी रोजगारमा निर्भर रहँदै आएका छन् । तर, जेनजी आन्दोलनपछिको असुरक्षा र कैदी फरार प्रकरणलाई कारण देखाउँदै नेपाली कामदारको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) ले भिसामा कडाइ गरेपछि दैनिक झन्डै ८ सय कामदार घरमै रोकिएका छन् ।
१५ सेप्टेम्बर २०२५ देखि युएईले नयाँ भिजिट भिसा पूर्ण रूपमा रोक्दै वर्किङ भिसामासमेत कडाइ गरेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार आन्दोलनका क्रममा जेलबाट भागेका हजारौँ कैदी युएईमार्फत पस्ने आशङ्का गरिएको भन्दै अस्थायी रूपमा यस्तो कदम चालिएको अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्र दुई लाख ७४ हजारभन्दा बढी नेपाली कामदार युएई पुगेका थिए ।
चालु वर्षको पहिलो दुई महिनामै झन्डै ५० हजारले श्रम स्वीकृति लिएर युएई जाने तयारी गरेका थिए । तर अहिले भिसा नलाग्दा हजारौँ युवा ऋण तिरेर बिदेसिने योजनामा अन्योलमा परेका छन् ।
म्यानपावर व्यवसायीहरूका अनुसार वर्किङ भिसा आइसकेका कामदार पठाउनसमेत प्रहरी प्रतिवेदन अनिवार्य गरिएको छ । यसले व्यवसायीलाई आर्थिक क्षति पुगेको छ भने कामदारलाई झनै मानसिक तनाव थपिएको छ ।
यद्यपि, युएई सरकारले अहिलेसम्म औपचारिक लिखित जानकारी नदिए पनि त्यहाँका अधिकारीहरूले नेपालमा भएको आन्दोलन, कैदी फरार र भिजिट भिसाको दुरुपयोगबारे चिन्ता व्यक्त गर्दै अनौपचारिक रूपमा कडाइको जानकारी गराएको म्यानपावर व्यवसायीहरूको भनाइ छ ।
नेपालका लागि प्रमुख श्रम बजार दुबईमै यस्तो रोक लाग्दा तत्काल हजारौँ श्रमिक प्रभावित भएका छन् ।
व्यवसायीहरूले भने यो अस्थायी निर्णय भएको र केही सातामै सहज हुने अपेक्षा व्यक्त गरेका छन् । तर दीर्घकालीन रूपमा यसले नेपाली श्रमिकको भविष्य र श्रम बजारमा ठूलो प्रश्न खडा गर्न सक्ने चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया