पूर्व सांसद अशोक चौधरीको खबरदारी : भ्रष्टाचारविरुद्ध अब ढिला गर्न मिल्दैन

शनिबार, ०४ असोज २०८२

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का पूर्व सांसद अशोक कुमार चौधरीले सामाजिक सञ्जालमार्फत सरकारलाई कडा चेतावनी दिएका छन्। सामान्यतया शान्त र कम बोल्ने नेताका रुपमा चिनिएका चौधरीले यसपटक असाधारण कडाइका साथ सन्देश दिँदै भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध तत्काल कदम चाल्न माग गरेका छन्।

तीन वर्षको आफ्नो राजनीतिक यात्राको आत्ममूल्यांकन गर्दै चौधरीले आफू संसदमा व्यक्तिगत लाभका लागि नभई ऐतिहासिक विभेदमा परेका तथा सामाजिक–आर्थिक रूपमा पछाडि पारिएका वर्गहरूको आवाज बुलन्द गर्न पुगेको स्मरण गरे। थारू समुदायबाट उदाएका नेताका रुपमा उनले आफ्ना राजनीतिक यात्रा र संघर्षलाई जिम्मेवारीको रूपमा व्याख्या गरे।

Gen Z आन्दोलनको प्रशंसा
हालसालैको Gen Z आन्दोलनलाई चौधरीले असाधारण भने। उनका अनुसार, “२७ घण्टामै उनीहरूले इतिहास रचे, यसले लोकतन्त्रमा नयाँ आशा जगाएको छ।” तर संविधान दिवसकै दिन सितल निवासमा देखिएका पुरानै नेतृत्त्वसँगको युवाहरूको सहकार्यले साँच्चै परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्न उनले उठाए।

पाँच बुँदे माग
चौधरीले सरकारसमक्ष तत्काल कार्यान्वयन गर्नुपर्ने पाँच बुँदे माग राखेका छन्–
१. उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति र स्रोत छानबिन।
२. राजनीतिक नियुक्ति खारेज गरी मेरिटमा आधारित प्रणाली।
३. विदेशी बैंकमा पुगेको सम्पत्ति फिर्ता ल्याउने पहल।
४. नेताहरू र उच्च कर्मचारीहरूको सम्पत्ति तथा बैंक खाता रोक्ने कदम।
५. स्वतन्त्र, निष्पक्ष र पारदर्शी उच्चस्तरीय छानबिन आयोग गठन।

त्यससँगै उनले भदौ २४ गतेको आन्दोलनका क्रममा नेताहरूको घरमा आगलागी हुँदा अरबौँ रुपैयाँ बराबरका नेपाली नोट जलेको आशंका रहेकाले तत्काल पाँच सय र हजारका नोट बन्द गर्नुपर्ने माग पनि गरे।

चौधरीले आफ्नो चेतावनीलाई व्यक्तिगत मत मात्र नभई निराश जनमानसको प्रतिनिधित्व भन्दै लेखेका छन्, “सत्य र न्यायका लागि बोल्नु पर्ने आवाज चुप लाग्न मिल्दैन।”

देश राजनीतिक अनिश्चितता र आर्थिक संकटको चक्रव्यूहमा फसेको बेला चौधरीको चेतावनी ‘जनताको मनको आवाज’ हो वा ‘पुनः उभारिने राजनीतिक महत्वाकांक्षा’ भन्ने प्रश्न भने समयले मात्रै उत्तर दिनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार