जेनजी आन्दोलनमा लुटिएको दुई थान हतियार फेला

बुधबार, ०३ मंसिर २०८२

झापा : जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको दुई थान हतियार प्रहरीले फेला पारेको छ। प्रहरीमाथि भएको तोडफोड, आगजनी तथा हातहतियार लुटपाट घटनामा संलग्न फरार व्यक्तिहरूको खोजतलास भइरहेका बेला विशेष सूचनाका आधारमा उक्त हतियारहरु बरामद गरिएको हो।

प्रहरीका अनुसार गत भदाै २४ गते दमकमा भएको घटनापछि फरार रहेका व्यक्तिहरूको खोजीको क्रममा दमक नगरपालिका–६ बाट पाँचथर मिक्लाजुङ गाउँपालिका–३ बस्ने २२ वर्षीय सुशिल फियाक (लिम्बु) लाई पक्राउ गरिएको हो। प्रारम्भिक सोधपुछमा उनले लुकाइ राखिएका हतियारहरू सम्बन्धमा खुलासा गरेका थिए।

उनैको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक  नबिन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले पाँचथर मिक्लाजुङ–३, आरुबोटे लामागाउँस्थित एक ओडारबाट लुकाइ राखिएका हतियार तथा गोलीगठ्ठा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले  सिरियल नम्बर 62038 भएको म्याग्जिनसहितको 303 मार्क–3 राइफल १ थान, सिरियल  नम्बर 031102739 भएको, म्याग्जिनरहित तथा बट र ह्यान्डग्रिप जलेको अवस्थामा रहेको इन्सास राइफल १ थान ,इन्सासको जंगी राउण्ड १ थान, एसएलआरको जंगी राउण्ड ३ थान बरामद गरेको हो।

बरामद गरिएको हतियार र पक्राउ परेका व्यक्तिमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कानूनी कारबाही अघि बढाइने  जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार