काठमाडौँ : जेनजी पुस्ताको आन्दोलनले मुलुकभरका सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुर्याएको छ । यसैबिच नेपाल बीमा प्राधिकरणले हालसम्म १८ निर्जीवन बीमा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी दर्ता भइसकेको जनाएको छ ।
ती दाबीमार्फत २० अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गरिएको छ ।
सबैभन्दा बढी दाबी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा दर्ता भएको छ । कम्पनीले ४० वटा दाबीमार्फत पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८ वटा दाबी परेका छन्, जसको मूल्य चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५०० बराबर छ ।
शिखर इन्स्योरेन्समा ३६६ दाबी दर्ता भई दुई अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ बराबरको क्षतिपूर्ति मागिएको छ भने आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ दाबीमार्फत एक अर्ब ५९ करोड ६ लाख ८० हजार ८०० मागिएको छ । त्यस्तै, सगरमाथा–लुम्बिनी इन्स्योरेन्स कम्पनीमा २३३ दाबी दर्ता भई एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ क्षतिपूर्ति दाबी भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९६ दाबीमार्फत एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ क्षतिपूर्ति माग पाएको छ भने नेको इन्स्योरेन्समा ४० दाबीमार्फत एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको दाबी परेको छ । सानिमा जिआईसीले १२९ दाबीमार्फत ७८ करोड ९३ लाख ७९ हजार क्षतिपूर्ति माग पाएको छ ।
राष्ट्रिय बीमा कम्पनीमा १७२ दाबी (४९ करोड ५१ लाख), युनाइटेड अजोड इन्स्योरेन्समा १७० दाबी (४८ करोड ७४ लाख ७५ हजार ३६०), नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ दाबी (४६ करोड ९४ लाख ९८ हजार), एनएलजी इन्स्योरेन्समा १५१ दाबी (३८ करोड ५८ लाख २२ हजार), प्रभु इन्स्योरेन्समा ६९ दाबी (१९ करोड १८ लाख), नेशनल इन्स्योरेन्स कम्पनीमा १९ दाबी (छ करोड ८२ लाख ९० हजार ७५६) परेका छन् ।
त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ दाबी (एक करोड १३ लाख २२ हजार ८००), स्टार माइक्रो इन्स्योरेन्समा छ दाबी (६७ लाख सात हजार ६५०), नेपाल माइक्रो इन्स्योरेन्समा १५ दाबी (५६ लाख ३६ हजार) र ट्रस्ट माइक्रो इन्स्योरेन्समा आठ दाबी (४२ लाख) परेको प्राधिकरणले जनाएको छ ।
बीमा भुक्तानीलाई प्राथमिकतामा राख्दै नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले दाबी छिटो टुङ्गोमा पुर्याउने प्रतिबद्धता जनाएको छ । सङ्घका अध्यक्ष राजेन्द्र मल्लका अनुसार बीमा भएका सम्पत्तिको क्षतिको तत्काल मूल्याङ्कन गरेर भुक्तानी प्रक्रिया अघि बढाइनेछ ।
बीमितले क्षतिको विवरण र कागजात चाँडै बुझाउन आग्रह गरिएको छ भने कम्पनीहरूले सामाजिक उत्तरदायित्वअनुसार निःशुल्क तथा सहज सेवा उपलब्ध गराउने आश्वासन दिएका छन् ।
प्रतिक्रिया