जेनजी आन्दोलनपछि विस्थापित बनेको प्रहरी पकली फर्कियो

आइतबार, ०५ असोज २०८२

विराटनगर : जेनजी आन्दोलनका नाममा गरिएको आगजनीका कारण विस्थापित बनेको सुनसरीको इलाका प्रहरी कार्यालय पकली आइतबार पुनः पुरानै भवनमा फर्किएको छ ।

जेनजी आन्दोलनको आवरणमा अराजक समूहले इटहरी उपमहानगरपालिका–१७ स्थित पकली प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरी भवन क्षति पुर्याएको थियो । उक्त घटनापछि असुरक्षित बनेको प्रहरी करिब १५ किलोमिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय इनरुवाबाट जिम्मेवारी निर्वाह गर्दै आएको थियो ।

प्रहरी विस्थापित भएपछि स्थानीय बासिन्दामा सुरक्षा चिन्ता बढेको थियो । स्थानीयको पहल, सक्रियता र सहयोगमै प्रहरीलाई पुरानै कार्यालयमा फर्काउन सम्भव भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

स्थानीयहरूले ज्ञानबहादुर बस्नेतको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरी क्षतिग्रस्त प्रहरी भवनको मर्मत तथा पुनर्निर्माण गरेका हुन् । बस्नेतका अनुसार प्रहरी नहुँदा शान्ति सुरक्षाको अवस्था कमजोर भई आपराधिक गतिविधि बढ्ने खतरा देखिएको थियो । ‘प्रहरीले सर्वसाधारणलाई सुरक्षा दिन्छ, प्रहरीको सुरक्षा हामी गर्छौं,’ बस्नेतले बताए ।

पुनर्निर्मित भवनमा फर्किएका प्रहरीलाई आइतबार स्थानीयवासीहरूले फूलमाला, खादा र अबिर लगाएर भव्य स्वागत गरेका छन् । प्रहरी फर्किएसँगै स्थानीयले खुसीयाली पनि मनाएका छन् ।

हाल इलाका प्रहरी कार्यालय पकलीमा इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

कार्यालयको कार्यक्षेत्रमा इटहरी उपमहानगरपालिका–१४, १५, १६, १७, १८ र रामधुनी नगरपालिका–१ देखि ७ नम्बर वडासम्मका क्षेत्र पर्छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार