सिरहा : सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंह अपहरणमा परेको आशंका गरिएको छ। परिवारका अनुसार असोज ५ गते राति ८ः३० बजे घर बाहिर आँगनमा निस्किएका अभिषेक त्यसपछि बेपत्ता भएका हुन्।
रातभर गाउँभर खोज्दा पनि भेटिन नसकेपछि परिवारले असोज ६ गते बिहान ८ बजे अभिषेककै ‘इमो’ आइडीबाट आमाको ‘इमो’मा आएको सन्देश हेरे। सो सन्देशमा ५ करोड रुपैयाँ फिरौती मागिएको उल्लेख थियो। रकम अक्षर र अंक दुवैमा लेखिएको परिवारजनले बताएका छन्।
अभिषेकका बाजे लक्ष्मण सिंहले, “सात वर्षअघि बुबा सञ्जय सिंहको करेण्ट लागेर मृत्यु भएको थियो। अब अभिषेक नै हाम्रो परिवारको एक मात्र आधार हो,” भन्दै नाति अपहरणमा परेको थाहा पाएपछि आक्रन्द व्यक्त गरे।
बालककी आमा र बाजे–बज्याले असोज ६ गते मध्यान्ह इलाका प्रहरी कार्यालय गोलबजारमा लिखित जाहेरी दिएका छन्।
बालक बेपत्ता भएको सूचना पाएपछि प्रहरी अनुसन्धानमा जुटेको छ। घटनास्थलमै खटिएका प्रहरी निरीक्षक गोविन्द साहले, “फिरौती सन्देशको आधारमा अनुसन्धान र खोजतलास प्रारम्भ गरिएको छ,” भने।
प्रतिक्रिया