म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैङ्क स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने गरिब विपन्नलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैङ्क स्थापना गरिएको हो ।
बैङ्कबाट गरिब तथा अतिविपन्न परिवार, प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएकालाई दसैँ, तिहारलगायत चाडपर्वको समयमा कपडा उपलब्ध गराउने बेनी नगरपालिका–७ का वडा सदस्य विश्वास श्रेष्ठले बताए ।
लायन्स र लियो क्लब अफ बेनी लभ्लिहिलका प्रतिनिधिहरुले सोमबार बेनीमा घरदैलो गरेर बैङ्कका लागि आवश्यक पर्ने कपडा सङ्कलन गरेर वडा कार्यालयलाई उपलब्ध गराएका छन् । पहिलो दिन दुईवटा बोलेरो गाडीमा अटाउने कपडा सङ्कलन भएको लायन्स क्लब अफ बेनी लभ्लिहिलका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।
“घरदैलोका क्रममा बजारवासीहरुले प्रयोगमा नभएका लगाउन योग्य तथा फेन्सी व्यवसायीहरुले नयाँ कपडा पनि उपलब्ध गराउनुभएको छ,” उनले भने, “चाडपर्वको समयमा गरिब विपन्नलाई न्यास्रो नहोस् भनेर थप कपडा जुटाएर एक÷दुई दिनमा वितरण गर्छौं ।”
आवश्यक पर्नेले वडा कार्यालयमा आएर आफूखुसी रोजेर लुगा लैजान पाउनेछन् । वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, अशक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।
प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा बजारवासीले उपलब्ध गराएका छन् । जाडो मौसम नजिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यहोर्नु नपरोस् भन्ने उद्देश्य पनि कपडा बैङ्क स्थापना गर्नु रहेको छ ।
प्रतिक्रिया