विराटनगरमा भाउजूमाथि तेजाब प्रहार गरेर देवर फरार

मंगलबार, ०७ असोज २०८२

विराटनगर । विराटनगर महानगरपालिका–९ धोवियारीकी २९ वर्षीया रागिनी साहमाथि देवरले तेजाब प्रहार गरेका छन् । घरयासी विवादका क्रममा २२ वर्षीय श्रवण साहले रागिनीको अनुहारमा तेजाब हानेका हुन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार घटना सोमबार बिहान बिहान १०ः१५ बजेतिरको हो । तेजाब प्रहारबाट रागिनीको अनुहारमा चोट लागेको भए पनि उनको आँखामा क्षति पुगेको छैन । घाइते रागिनीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ । चुँडालका अनुसार प्रारम्भिक अनुसन्धानबाट लेनदेन विवादका कारण देवरले यस्तो कार्य गरेको पत्ता लागेको छ । भाउजूलाई तेजाब हानेर श्रवण फरार भएको उनले बताइन् । फरार आरोपी श्रवणको खोजी तीव्र पारिएको जानकारी डीएसपी चुँडालले दिइन् । 

तेजाब मानव शरीरका लागि अत्यन्त खतरनाक र हानिकारक रसायनिक पदार्थ हो । छालामा पर्यो भने पोल्ने, पिल्साउने, दीर्घकालीन नोक्सान पुर्याउने र दृष्टि नष्ट गर्न सक्ने भएकाले कानुनले तेजाब प्रहारलाई गम्भीर अपराध मानेको छ । नेपालमा तेजाब प्रहार कानुन अनुसार दण्डनीय अपराध हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार