झापा: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु आठ अर्ब १९ करोड एक लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा यो नौ प्रतिशत अर्थात् रु ६८ करोड आठ लाखले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा रु सात अर्ब ५० करोड ९२ लाख बराबरको सामान आयात भएको थियो ।
तर, यस अवधिमा यो नाकाबाट हुने निर्यात भने घटेको छ । चालु आवको साउन र भदौ महिनामा रु तीन अर्ब छ करोड ३७ लाख बराबरको सामान निर्यात भएको छ । गत आवको सोही अवधिमा भने रु तीन अर्ब ८६ करोड २८ लाखको सामान निर्यात भएको थियो । सो निर्यात २० दशमलव ६९ प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले बताए ।
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् भने आयात हुने मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडालगायत रहेका छन् ।
कार्यालयका अनुसार चालु आव २०८२/८३ को पहिलो दुई महिनामा आयात–निर्यातबाट रु दुई अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा आठ दशमलव ६२ प्रतिशत अर्थात् रु २० करोड ८६ लाख नौ हजारले बढी भएको जनाइएको छ ।
प्रतिक्रिया