काठमाडौ । जेनजी आन्दोलनले दुई दिनमै सत्ता गुमाएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले भक्तपुरको गुन्डूमा बस्दै शक्ति पुर्नस्थापना गर्ने प्रयासमा छन्।
भदौ २४ गते दिउँसो सेनाको हेलिकप्टर चढेर शिवपुरी भागेका ओली बालुवाटार छाडेको १० दिनपछि असोज २ गते सूर्यविनायक नगरपालिका–७ गुन्डू पुगेका हुन्। अहिले ओली लगातार सचिवालय सदस्यहरूसँग भेटघाट गर्दै आफ्ना विपक्षमा जान नदिन प्रयास गरिरहेका छन् । ओली सेनाको ब्यारेकबाट फर्किएपछि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको एरिया गुण्डुतिर डेरा सरेका छन् ।
ओलीको बालकोटस्थिति निवास जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएपछि गुण्डुमा उनका निम्ति एउटा घर भाडामा लिएको छ । आगजनीबाट ध्वस्त भएको ओलीको घर तत्काल बस्न लायक नभएपछि ओलीलाई भेट्न दैनिक सयौं नेता कार्यकता गुन्डु पुग्ने गरेका छन् । महेश बस्नेतको पहलमा गुन्डु पुग्ने नेता कार्यकर्ताको ओलीसँग तस्विर खिच्न भिड लाग्ने गरेको छ ।
यता ओलीले गत साउनमा नवौँ केन्द्रीय कमिटी बैठकमार्फत सदस्यता नवीकरण रोकेपछि पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सक्रिय बनेकी छन् । भण्डारीले आफ्नो पक्षमा वातावरण बनाउने तयारी अनुसार सोमबार भोजपुर–काठमाडौं समाजको छलफलमा सहभागी भएकी छन् ।
जहाँ कहिले ओलीको विरोध नगरेका र संस्थापन पक्षको विरुद्ध नदेखिएका एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, हेमराज राई, विनोद ढकाल लगायतका नेताहरु उपस्थित रहेका थिए । शेरधन राईको पहलमा भएको उक्त भेलापछि आज ओलीको डेरामा थप चहलपहल बढेको छ ।
प्रतिक्रिया