विराटनगरमा स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँ बरामद, थप अनुसन्धान गर्दै प्रहरी

मंगलबार, ०७ असोज २०८२

विराटनगर  । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँ बरामद गरेको छ । भारतबाट अवैध रूपमा ल्याइएको उक्त रकम मंगलबार दिउँसो १२ः४५ बजेतिर नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

चुँडालका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले शंकास्पद रूपमा नेपाल प्रवेश गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मोटरसाइकल चालक विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहको साथबाट लुकाइछिपाइ ल्याइएको रकम फेला परेको चुँडालको भनाइ छ । 

उनका अनुसार खानतलासीका क्रममा साहको साथबाट १ हजार रुपैयाँका २ सय ८४ र ५ सय रुपैयाँका २ हजार ३ सय ३२ नोट बरामद भएको छ । स्रोत प्रमाणित गर्न नसकेपछि साहलाई नियन्त्रणमा लिइएको छ । 

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान सुरु गरेको छ । बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । रकमको वास्तविक स्रोत पत्ता लगाउन प्रयास भइरहेको र अनुसन्धानबाट वास्तविकता पत्ता लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार