रास्वपाले भन्यो : जेनजी आन्दोलनमा सबैभन्दा बढी हाम्रो सहभागिता थियो, घटनाको जिम्मा लिँदैनौँ

मंगलबार, ०७ असोज २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २३ गते भएको जेन्जी आन्दोलनमा आफ्ना सदस्यहरूको सशक्त उपस्थिति रहेको दाबी गरेको छ ।

मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी रास्वपाले आफ्ना केन्द्रीय र पूर्व–केन्द्रीय सदस्यहरू प्रत्यक्ष रूपमा आन्दोलनमा संलग्न भएको जानकारी दिएको हो ।

पार्टीका प्रवक्ता मनिष झाले जेन्जी आन्दोलनमा अन्य दलको भन्दा सङ्ख्यात्मक र प्रतिशतगत रूपमा रास्वपाको सबैभन्दा बढी उपस्थिति रहेको बताए ।

उनले भने, “हामीले पार्टीको झन्डा नबोकी सदस्यहरूलाई सहभागी हुन आह्वान गरेका थियौँ । सुमना श्रेष्ठ, गणेश कार्की, कान्तिशिखा लगायतलाई जिम्मेवारी दिइएको थियो ।”

प्रवक्ता झाका अनुसार रास्वपामा जेन्जी पुस्ताको उपस्थिति उच्च रहेको र त्यही पुस्ताले आन्दोलनमा अग्रसर भूमिका खेलेको हो । उनले पार्टीको प्रतिनिधि सभाको सचेतक समेत जेन्जी पुस्ताबाटै रहेको स्मरण गराए ।

तर, उनले २४ गते भएको हिंसात्मक गतिविधि, आगजनी र लुटपाटमा भने रास्वपाको कुनै संलग्नता नभएको प्रस्ट पारे । उनले भने, “२४ गतेको घटनामा पार्टीले कुनै आह्वान गरेको थिएन । आगजनी तथा लुटपाट हाम्रो सिद्धान्त होइन ।”

यसरी रास्वपाले शान्तिपूर्ण आन्दोलनमा सक्रिय सहभागिता रहेको स्वीकार गर्दै हिंसात्मक घटनाबाट भने आफूलाई अलग गर्ने प्रयास गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार