१४ कर्मचारी हेर्न सशस्त्रमा डीआईजीको दरबन्दी

शनिबार, ०६ मंसिर २०८२

काठमाडौँ : अन्तरिम सरकारले सशस्त्र प्रहरी सङ्गठनभित्र कार्यरत १४ जनाको मात्र जनशक्ति रहने कानुन महाशाखाको कमान्ड सम्हाल्नका लागि डीआईजीको नयाँ दरबन्दी सिर्जना गरेको पाइएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका काका पर्ने एसएसपी युवराज अर्याल नेतृत्व रहेको कानुन महाशाखामा डीआईजी दरबन्दी सिर्जना गर्ने गृह मन्त्रालयको प्रस्तावलाई मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

यो निर्णयसँगै अडाई वर्षपछि अवकाशमा जान लागेका एसएसपी युवराज अर्याललाई डीआईजीमा बढुवाको बाटो खुलेको छ। कानुन शाखामा डीआईजी बन्ने योग्यतामा पर्ने सशस्त्र प्रहरीका २६ एसएसपीमध्ये आवश्यक योग्यता युवराजकै मात्र पुगेको स्रोतको दाबी छ।

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको दरबन्दी संरचना तथा तेरिज संशोधन गरेपछि कानुन शाखामा डीआईजी दरबन्दी थप गर्ने प्रक्रिया अघि बढेको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ।

यद्यपि कानुन महाशाखामा कुल १४ जना मात्र जनशक्ति रहे पनि गृहमन्त्रीको प्रस्तावमा एसएसपी युवराज अर्याललाई डीआईजी बनाउन नयाँ दरबन्दी सिर्जना गरिएको हो।

अर्यालको कमान्डमा रहेको शाखामा उनीपछिका वरीयताका अधिकृतहरूमा एसपी छवि पाण्डे तथा डीएसपीहरू भुवन भण्डारी, बद्री भुसाल, सत्यदेवी बस्नेतसहित केही सई, असई र जवान गरी जम्मा १४ जना कार्यरत छन्। पाण्डे सी सं चौथो, भण्डारी छैटौँ, भुसाल सातौँ र बस्नेत नवौँ ब्याचका अधिकारी हुन्।

नेपाल प्रहरीले फौजदारी अनुसन्धानसमेत गर्ने कानुन विभागलाई आजसम्म एसपीकै जिम्मामा राखिएको भए पनि अपराध अनुसन्धानको दायित्व नभएको सशस्त्रको कानुन महाशाखालाई भने डीआईजीको नेतृत्व दिने गरी निर्देशनालयमा उकास्ने प्रस्ताव अघि बढाइएको हो।

हाल सशस्त्र प्रहरीमा डीआईजीको नेतृत्वमा सात प्रदेश मुख्यालय, स्टाफ कलेज, मातातीर्थस्थित एकेडेमी, निर्देशनालय, सशस्त्र अस्पताल तथा इन्जिनियरिङ सेक्टर रहेका छन्। ३५ हजारभन्दा बढी जनशक्ति भएको सशस्त्रमा प्रदेश मुख्यालयहरूकै मातहत करिब ५ हजार जनशक्ति रहन्छ।

तर, गृहमन्त्रीका काका युवराज अर्याललाई डीआईजी बनाउने प्रयोजनले नै कानुन महाशाखालाई निर्देशनालयमा रूपान्तरण गरी नयाँ दरबन्दी सिर्जना गरिएको आरोप सशस्त्रभित्र उठ्न थालेको छ।

चेन अफ कमान्डमा असर पर्ने चिन्ता

कानुन महाशाखाका प्रमुख एसएसपी युवराज अर्याललाई ‘वृत्ति विकास’का नाममा डीआईजीमा पदोन्नति दिने निर्णयले सशस्त्र प्रहरीको चेन अफ कमान्डमा गम्भीर असर पर्ने फोर्सभित्रै चिन्ता बढेको छ।

डीआईजी बनेपछि अर्यालले नेतृत्व गर्ने भनिएको नयाँ निर्देशनालयमा दोस्रो कमान्ड एसपी छवि पाण्डे हुनेछन्। तर सशस्त्र प्रहरीमा सी सं २ ब्याचका करिब ५५ एसपी बढुवाको प्रतीक्षामा रहेका बेला कानुन निर्देशनालयका कारण पाण्डे एसएसपीमा बढुवा हुँदा उनी आफूभन्दा दुई ब्याचअघिका १ सय २५ एसपीभन्दा सिनियर हुने स्थिति आउनेछ।

सशस्त्रमा हाल कार्यरत डीआईजीहरू सी सं १ ब्याचका हुन्। यो ब्याचका दुई अधिकारीले स्टाफ कलेज परीक्षा नदिएकाले एसएसपीमै छन्। सी सं २ का दुई जना डीआईजी र करिब २० जना एसएसपी छन्।

सी सं ३ ब्याचमा हाल लेखा प्रमुख एसएसपी होम ज्ञवालीबाहेक सबै एसपी छन्। केही महिनाअघि सी सं ४ का २२ जनालाई एसपीमा बढुवा गरिएको छ भने ६० भन्दा बढी डीएसपी नै छन्।

सी सं ५ देखि ८ ब्याचसम्म सबै डीएसपी छन् भने सी सं ९ का ५८ जना केही महिनाअघि डीएसपीमा बढुवा भएका छन्। यसै ब्याचका ४० जना इन्स्पेक्टरमै कार्यरत छन्। सी सं १० देखि १७ ब्याचसम्म इन्स्पेक्टर छन् भने सी सं १८औँ ब्याचको तालिम हाल सञ्चालनमा छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार