झुम्का कारागारबाट फरार भएका कैदी पक्राउ, अदालतले सुनाएको थियो जन्मकैदको फैसला

शनिबार, ०६ मंसिर २०८२
सांकेतिक तस्बिर

विराटनगर । जेनजी आन्दोलनका बेला सुरक्षा सतर्कता कमजोर भइरहेको संवेदनशील दिनमा झुम्का कारागारबाट भागेका एक जना कैदीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

कारागारबाट फरार भएका जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३० वर्षीय वविनारायण चौधरीलाई शनिबार बिहान पक्राउ गरिएको मोरङप्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार विशेष सूचनाका आधारमा उनलाई बिहान ८ः५० बजेतिर घरनजिकबाटै पक्राउ गरिएको हो । 

अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको प्रहरी सहायक निरीक्षक (असई) रमेश खतिवडा नेतृत्वको टोली चौधरीलाई पक्राउ गर्न सफल भएको हो । चौधरी कर्तव्य ज्यान मुद्दामा अदालतले सुनाएको जन्मकैदको सजाय भुक्तान गरिरहेका बेला भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए । 

उनलाई अदालतले २५ वर्ष कैद सजाय सुनाएपछि झुम्का कारागार चलान गरिएको थियो । जेनजी आन्दोलनका दिन ठूलो भिडभाड, सुरक्षाको चाप र कारागार परिसरमा देखिएको अस्थिर अवस्थाको मौका छोपेर उनी फरार भएका थिए । 

एसपी कटवालका अनुसार फरार कैदी तथा प्रतिवादीको खोजीका लागि मोरङ प्रहरीले विशेष अभियान चलाएको छ । ‘जेनजी आन्दोलनका दिन मात्र नभएर अन्य समयमा समेत भागेर लुकेर बसेका सबैलाई समात्ने उद्देश्यले हामी निरन्तर खोजीमा छौं,’ कटवालले भने । 

त्यस्तै, प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका अर्का एक युवकलाई पनि मोरङको मिक्लाजुङ गाउँपालिका–३ बाट पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट पक्राउ अनुमति लिएर शुक्रबार साँझ २१ वर्षीय करण खिनाल दर्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएका दर्जीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान भइरहेको छ । उनी केही समयदेखि फरार थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार