झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा ताजपुरियाको मृत्यु

शनिबार, ०६ मंसिर २०८२

झापा । झापामा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार अपरान्ह १ जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियालाई अपरान्ह १२ः२० बजेतिर करेन्ट लागेको थियो । उक्त खोला ताजपुरियाको घरदेखि करिब २ सय मिटर उत्तर–पश्चिममा पर्छ । 

उनले घरबाट २२० भोल्टको लाइनको तार जोडेर खोलामा विद्युत प्रवाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खोलामा विद्युत प्रवाह गर्ने क्रममा उनी आफैंलाई करेन्ट लागेको प्रहरीको भनाइ छ । 

करेन्ट लागेर खोलामा मृत्यु भइरहेको अवस्थामा ताजपुरियालाई देखेपछि पत्नी फूलकुमारीले तत्कालै स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार