विराटनगर । मानव बेचबिखनको पुरानो मुद्दामा फरार रहेकी मोरङको सुन्दरहरैँचा नगरपालिका–६ की ५० वर्षीया बिना राई (लिम्बू)लाई अन्ततः प्रहरीले घरमै पुगेर पक्राउ गरेको छ ।
लामो समयसम्म कानुनी प्रक्रियाबाट भाग्दै आएकी उनलाई बिहीबार राति प्रहरी चौकी गछियाबाट खटिएको सई गणेश दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो । उनी १५ वर्षदेखि फरार थिइन् ।
प्रहरीका अनुसार उनी वर्षौंदेखि लुकिछिपी बस्दै आएकी थिइन् । बिनाविरुद्ध २०६७ असोज ५ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दर्ता भएको थियो । प्रतिवादी फरार रहेकाले उक्त जाहेरी पूरै समय ‘पेन्डिङ’मा रहँदै आएको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार बिनाले आकर्षक कमाइ हुने भन्दै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर एक नेपाली महिलालाई भारतको नयाँ दिल्ली मार्ग हुँदै साउदी अरब पुर्याइदिएकी थिइन् । साउदी पुगेपछि ती महिलाले गम्भीर श्रमशोषण र दुर्व्यवहार सहनु परेको प्रहरीले जनाएको छ । दूतावासको सहयोगमा नेपाल फर्किएपछि पीडितले उजुरी दिएकी थिइन् । तर, जाहेरी परेको थाहा पाउनासाथ बिना फरार भएकी थिइन् ।
पीडित महिलाले कानुनी मार्ग रोजे पनि प्रतिवादी पक्राउ नपर्दा वर्षौंदेखि न्याय अपूरो थियो । अब भने बिनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दालाई अघि बढाउन प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरी बाँकी प्रक्रिया अघि बढाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । थप अनुसन्धान इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले गरिरहेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मुद्दा पुरानो भए पनि कानुनीरुपमा निष्कर्ष ननिस्कँदा अनुसन्धानलाई उच्च प्राथमिकतामा राखिएको छ । ‘साउदीमा अत्यधिक श्रमशोषण सहनुपरेपछि दूतावासमार्फत नेपाल आइपुगेकी पीडितले उजुरी दिए पनि प्रतिवादी फरार भएकाले प्रक्रिया अघि बढ्न सकेको थिएन,’ उनले भने, ‘अब पक्राउ भइसकेकाले उपलब्ध प्रमाणका आधारमा अनुसन्धान र मुद्दा दर्ता दुवै द्रुत गतिमा अघि बढ्छ ।’
नेपालमा वैदेशिक रोजगारीका नाममा हुने प्रलोभन, ठगी र मानव बेचबिखनका घटनाहरू वर्षौंदेखि गम्भीर सामाजिक चुनौतीको रूपमा देखिँदै आएका छन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ ले विदेश पुर्याएर श्रमशोषणमा धकेलेको पाइएमा १० देखि १५ वर्षसम्म कैद र आर्थिक जरिबानासहित कडा कारबाहीको व्यवस्था गरेको छ । त्यसमाथि साउदी अरबमा नेपाली महिलालाई घरेलु श्रमका लागि पठाउनै नपाइने प्रष्ट प्रावधान रहेको अवस्थामा बिनामाथिको अभियोग झनै गम्भीर मानिन्छ ।
वर्षौंदेखि प्रतिवादी फरार हुँदा अनुसन्धान तत्काललाई स्थगित रहनु, प्रमाण संकलनमा ढिलाइ हुनु र पीडितले न्याय पाउन लामो समय कुर्नु पर्ने जस्ता समस्या नेपालका धेरै मानव बेचबिखन मुद्दामा दोहोरिने प्रवृत्ति बनेको छ । यही कारण १५ वर्षअघिको उजुरी पनि बिनाको गिरफ्तारीपछि मात्रै पुनः सक्रिय रूपमा अघि बढ्न सकेको हो ।
अब अदालतमा मुद्दा दर्ता गर्न पीडितले दूतावासमा दिएको बयान, जोखिम मूल्यांकन प्रतिवेदन, श्रमशोषणसम्बन्धी कागजात, बिनाको संलग्नता पुष्टि गर्ने प्रमाण तथा प्रहरीको विस्तृत अनुसन्धान प्रतिवेदन मुख्य आधार बन्नेछ । समय लामो भएपनि घटनाको संवेदनशीलता, पीडितको अवस्था र अपराधको प्रकृतिलाई ध्यानमा राख्दै यसलाई ‘उच्च प्राथमिकतामा’ राखेर अनुसन्धान गरिने एसपी कटवालले बताए ।
प्रतिक्रिया