काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फिर्ता भएका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका रायमाझी आज केन्द्रीय कारागारमा उपस्थित भएका हुन् ।
रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
कारागार विभागका तथ्याङ्कअनुसार हालसम्म ६ हजार ८४६ कैदीबन्दी र ३४१ सुधारगृहका आश्रितसहित ७ हजार १०७ जना पुनः कारागार फिर्ता भइसकेका छन् । पछिल्लो २४ घण्टामै १२३ जना र पछिल्ला तीन दिनमा ७७९ कैदीबन्दी कारागार फर्किएका छन् ।
तर अझै ७ हजार ३०६ जना कैदीबन्दी फरार रहेको विभागले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देशभरका कारागार तोडफोड र आगजनी हुँदा ३० हजार ६४० मध्ये १४ हजार ५५६ कैदीबन्दी भागेका थिए ।
प्रतिक्रिया