कांग्रेस–एमालेको दुई तिहाइ शक्तिशाली सरकारले मुलुकलाई जोगाउन सकेन : प्रभु साह

सोमबार, १३ असोज २०८२

रौतहट : आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी आन्दोलन तथा आन्दोलनका शहीद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने बताएका छन्।

रौतहटको फतुवाबिजयपुर नगरपालिका–२ सितलपुरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै साहले जेनजी आन्दोलनकै बलमा बनेको सरकारले त्यसै समूहलाई बेवास्ता गर्नु दुःखद भएको टिप्पणी गरे।

उनले भने, “अहिलेको सरकार जेनजी आन्दोलनकै बलमा बनेको हो। यसमा जेनजी वा शहीद परिवारको समेत प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ।”

साहले कांग्रेस–एमालेको दुई तिहाइ शक्तिशाली सरकारले मुलुकलाई जोगाउन नसकेको आरोप लगाउँदै वर्तमान राजनीतिक नेतृत्व पुस्तान्तरणको चरणमा प्रवेश गरेको बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई अब स्थायी रूपमा राजनीतिबाट बिदा दिनुपर्ने सुझाव पनि दिए।

उनको भनाइमा, “एमालेले ओलीलाई अघि नलगाओस्, काँग्रेसले देउवा देखाएर दाही नगरोस्। यी बुढा नेताहरूलाई बलपूर्वक हटाउनुपर्छ। अब देशलाई नयाँ नेतृत्व आवश्यक छ।”

साहले संविधानकै संरचनाले मुलुकलाई अझै सङ्कटतर्फ धकेलिरहेको बताउँदै, अन्तरिम संविधान र अन्तरिम सरकारमार्फत मात्रै मुलुकले निकास पाउने ठोकुवा गरे।

आज फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा र वडा नं. १ गमहरियामा शुभकामना आदान–प्रदान गरेका साहले हिजो देवाही गोनाही नगरपालिका, कर्कच, उचिडीह र कटहरिया नगरपालिकाको डुमरियामा समेत भेटघाट गरेका थिए।

कार्यक्रममा आजपा सचिवालय सदस्य रामशरण यादव, सचिवालय सदस्य विजय यादव निर्विज, वडा अध्यक्ष सञ्जय यादव, आम दलित मोर्चाका अध्यक्ष ठागा दास, केन्द्रीय सदस्यहरू सेरबहादुर पटेल, रामाशकर पासवान, ब्रह्मा नारायण यादव, श्रीभगवान पटेललगायत सहभागी थिए।

WhatsApp Image 2025-09-29 at 17.22.50

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार