चाडपर्वको उमङ्गमाथि अपराधको छायाँ : कोशी प्रदेश असुरक्षित

बुधबार, १५ असोज २०८२
सांकेतिक फाईल

इटहरी :  चाडपर्व नजिकिँदै गर्दा कोशी प्रदेशमा अपराध र असुरक्षाका घटनाहरू तीव्र बनेका छन् ।

भदौ २३ र २४ गतेको जेन.जी आन्दोलनपछि कारागार, बाल सुधार गृह र प्रहरी हिरासतबाट भागेका एक हजारभन्दा बढी कैदी–बन्दी अझै नफर्किएकाले सुरक्षा संकट झन् बढेको छ ।

प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमण भएपछि सुरक्षाकर्मीको मनोबल समेत खस्किएको छ भने सामान्य जनजीवन त्रसित बनेको छ ।

असोज ७ गते विराटनगरमा एक बालकलाई अपहरण गरी फिरौती मागिएको छ । घटनामा संलग्न दुई जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर सबै नाबालक भएकाले उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन । यस घटनाले अभिभावकलाई थप त्रसित बनाएको छ ।

झापामा हत्याकाण्ड

असोज ६ गते राति झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा धारिलो हतियार प्रहार गरी फुर्वा तामाङको हत्या भएको छ । घटनामा संलग्न प्रेमकुमार राई र रामकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । दशैंको पूर्वसन्ध्यामा भएको यस घटनाले स्थानीयलाई असुरक्षा थपेको छ ।

उदयपुरमा चोरी

असोज ९ गते बिहान उदयपुरको गाईघाटस्थित महेश्वर चाम्लिङको घरबाट नगद, लुगाफाटा र महत्वपूर्ण कागजात चोरी भएको छ ।

इटहरीमा सुन चोरी

सुनसरीको इटहरी २० स्थित दिपेन्द्र खवासको घरबाट मंगलबार राति ७ तोला सुन चोरी भएको छ । राति ९ बजे नै खवासको घरबाट सुन चोरी भएपछि इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको छ ।

विराटनगरमा सुन–चाँदी चोरी

असोज ३ गते दिउँसो विराटनगर–१२ का राकेश यादवको घरमा चोरी भई आठ तोला सुन, आधा किलो चाँदीका गरगहना र २५ हजार रुपैयाँ नगद हराएको छ ।

आन्दोलनपछि प्रहरी संरचनामा क्षति

भदौ २३–२४ गतेको आन्दोलनका क्रममा कोशी प्रदेशका ५६ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

मुद्दा चल्ने कार्यालय : १०

मुद्दा नचल्ने कार्यालय : ३४

ट्राफिक प्रहरी कार्यालय : १२

यीमध्ये १५ वटा कार्यालयमा पूर्ण क्षति पुगेको छ । ८४ वटा सवारीसाधनमा क्षति पुगेकोमा ७९ वटा प्रयोगयोग्य नरहेको प्रहरीको तथ्यांक छ । आन्दोलनका क्रममा १३० जना प्रहरी घाइते भएका छन्, जसमा ६ जना गम्भीर छन् ।

प्रहरी संरचना ध्वस्त हुँदा अपराध नियन्त्रणमा चुनौती थपिएको छ । प्रहरीमाथि आक्रमण भएका कारण उनीहरूको मनोबल कमजोर बनेको देखिए पनि मनोबल उच्च राखी सुरक्षामा खटिने काम भइरहेको प्रहरीको दाबी छ ।

घरेलु विवादमा महिलाको हत्या

इटहरी उपमहानगरपालिका–१२ मा पारिवारिक विवादका क्रममा २५ वर्षीया अनिसा भट्टराईको श्रीमान सुमन दाहालले काठको बटम प्रहार गरी हत्या गरेका छन् । उपचारका क्रममा राति अस्पतालमै मृत्यु भएपछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।

भीडबीच अन्धाधुन्ध छुरी प्रहार

सोमबार राति इटहरी–१६ बालग्राम चौकमा सयौंको भिडबीच अन्धाधुन्ध छुरी प्रहार भएको छ । घटनाले स्थानीय क्षेत्र आतंकित बनेको छ । 

प्रहरीको आँखाअगाडि जुवा–तास : इटहरीका टोलमै रात्रि गस्ती

 साँझ पर्नासाथ इटहरीका कतिपय गल्लीहरूमा चहलपहल अस्वाभाविक रूपमा बढ्छ। घरघरमा टीका–तिहार वा दसैंको रमाइलो नभई, भुईँमा ओछ्याइएको कपडा र बिचमा राखिएको तासको गड्डी वरिपरि भीड हुन्छ।

मुटु धड्किने गरी लाखौँको हारजित हुने जुवा–तास, डाइसका खेल खुलेआम भइरहेका छन्।

यस्ता दृश्य प्रहरीकै आँखाअगाडि देखिए पनि नियन्त्रणमा लिन कोही देखिँदैन। स्थानीयवासी टिका निरौला भन्छन्, “गाडी जलाइएपछि प्रहरी त उस्तै त्रसित छन्। खबर गर्दा पनि आउन सक्दैनन् भन्ने बाध्यता छ। त्यसैले तासको खेल चलिरहेकै छ।”

आन्दोलनपछिको असुरक्षा

जेनजी आन्दोलनपश्चात् इटहरीको सुरक्षा परिस्थिति अन्योलपूर्ण बनेको छ। प्रहरी चौकी र गस्ती गाडी क्षतिग्रस्त भएपछि सुरक्षाकर्मीहरूको उपस्थित नै न्यून भएको हो। यसले गर्दा जुवाडे समूहले ‘उही बेलाको अवसर’ पाएको देखिन्छ।

निरौला भन्छन्, “आन्दोलनले हाम्रो शहरलाई असुरक्षित बनाइदियो। राति बाहिर निस्कन डर लाग्छ। प्रहरी नभएपछि हामीले आफैंं गस्ती सुरु गरेका छौँ।”

स्थानीयको आफ्नै पहल

असुरक्षाको भावना बढेपछि इटहरीका धेरै वडामा स्थानीयवासीले टोल–टोलमै रात्रि गस्ती सुरु गरेका छन्। युवादेखि वृद्धसम्म पालैपालो हिँडेर सुरक्षा सुनिश्चित गर्ने प्रयास भइरहेको छ।

राति घरअगाडि टर्च बत्ती बोकेर हिँड्ने बासिन्दा देखिन्छन्। कतै समूहमा बसेर चिया पिउँदै पहरा दिन्छन्, कतै त लाठीसमेत बोकेर गस्ती गर्ने गर्छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार