वीरगन्ज : वीरगन्जको दसैँ मेलामा मङ्गलवार राति दुई युवाको समूहबिच भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेको नाम अन्दाजी २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) हो। उनी बाराको परवानीपुर गाउँपालिका-५ बहुअरी स्थायी घर भएका हुन् र हाल पर्सा वीरगन्ज महानगरपालिका-१० मा डेरा गरेर बस्दै आएका थिए।
मृतक ई–रिक्सा चालक थिए र उनका बुबा हिन्दू तथा आमा मुस्लिम धर्मावलम्बी हुन्।
घटनाका अनुसार, माईस्थानबाट गीता मन्दिर जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूको दुई समूहबिच विवाद भएपछि कुटाकुट भएको थियो।
सो क्रममा कानुको शरीरमा बाँसले प्रहार गरिएको थियो। गम्भीर घाइते उनलाई नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले घटनालाई ग्याङ फाइट नभएको स्पष्ट पार्दै भने, “एक जनालाई मात्र टार्गेट गरेर हानेको देखिन्छ। घटनामा संलग्न रहेको आशङ्कामा अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएका छौँ। अनुसन्धान जारी छ।”
प्रतिक्रिया