इनरुवाः गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ ।
सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति पुगेको हो । आठवर्षदेखि केराखेती गर्दै आउनुभएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ रु छ लाख बैंकबाट ऋण लिएर मियाँ केराखेती गरेका थिए । उनको तीन बिघा एक कठ्ठा केराखेतीमा क्षति पुगेको छ ।
करिब रु १३ लाखभन्दा बढीको क्षति पुगेको उनले जानकारी दिए । वर्षेनी बाढीले केराखेतीमा रु १० लाखदेखि रु २५ लाखसम्म क्षति हुने गरेको मियाँको भनाइ छ ।
त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठामा रु एक लाख लगानी गरेर लगाएको केराखेतीमा पनि ठूलो क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन् । जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठूलो क्षतिको सामना गर्दै आएका छन् ।
जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले बताए ।
प्रतिक्रिया