जेञ्जी मोरङले दबाबस्वरूप सडक डिभिजनलाई बुझायो ज्ञापनपत्र

विराटनगर–धरान राजमार्गमा खाल्डाखुल्डी

बुधबार, २९ असोज २०८२

अमिता गिरी

मोरङ : विराटनगरदेखि धरानसम्मको कोशी राजमार्गअन्तर्गत पर्ने बरगाछीदेखि रानीसम्मको सडक खण्ड अहिले खाल्डाखुल्डी,डिभाइडर धुलोले ढाकिएको अस्तव्यस्त अवस्थामा पुगेको छ।

सडकको यो बिग्रिएको रूपप्रति असन्तुष्टि जनाउँदै मोरङ जेञ्जी (GenZ) सङ्गठनले सडक डिभिजन कार्यालय विराटनगरलाई तत्काल सुधारका लागि दबाब दिएको छ।

बुधबार जेञ्जीका सचिव तथा प्रवक्ता दिपल बन्जाराले विज्ञप्ति जारी गर्दै उक्त सडक खण्डको दुरावस्था यात्रु र सवारीचालक दुवैका लागि घातक बन्दै गएको भन्दै चाँडै मर्मत सुरु गर्न माग गरेका हुन्।

15bd880b-6c8a-4c8d-9c71-0eee6eed9146

उनले सडकको सतह भासिएको, ठूला–साना खाल्डाखुल्डीले भरिएको र डिभाइडरमा धुलोले सडक विभाजन नै नदेखिने अवस्था बनेको भन्दै दुर्घटनाको जोखिम अत्यधिक बढेको बताए।

बन्जाराका अनुसार, धुलोमय अवस्थाले दृश्यता घटाउँछ, जसले चालकलाई अनियन्त्रित बनाउँछ र ठूला सवारीसाधन गुड्दा थप जोखिम सिर्जना हुन्छ।

सडक डिभिजन विराटनगरका प्रमुख नारायण प्रसाद निहुरेले भने तत्काल सुधारका तयारी भइरहेको बताएका छन्।

उनका अनुसार तिहारअघि नै सडकको सफाइ कार्य सुरु हुनेछ। साथै, २ देखि ३ महिनाभित्र भासिएका र अत्यधिक क्षतिग्रस्त भागलाई प्राथमिकतामा राखी मर्मतकार्य सुरु गर्ने योजना बनाइएको छ।

यो सडक खण्ड कोशी राजमार्ग अन्तर्गत पर्ने प्रमुख मार्ग हो, जसले रानी हुँदै धरानतर्फ जाने यातायातलाई सहज बनाउँछ।

यस राजमार्गको करिब ४२ किलोमिटरमध्ये ३२.८ किलोमिटर भाग सडक डिभिजन कार्यालय विराटनगरको जिम्मामा रहेको छ।

भारत–नेपाल सीमाबाट दैनिक रूपमा चल्ने भारी सवारीसाधन र ट्रकहरूको दबाबका कारण सडकमा थप क्षति पुगेको स्थानीयहरूले बताएका छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार