विराटनगर । कोशी प्रदेशको शिक्षा क्षेत्रमा नयाँ अध्याय सुरु हुने भएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका हिमाली र पहाडी जिल्लाका सबै माध्यमिक विद्यालयहरूमा आइसिटीसहितको आधुनिक पूर्वाधार निर्माणका लागि करिब १५ अर्ब रुपैयाँको लगानीमा दीर्घकालीन योजना अघि बढाउने घोषणा गरेका छन्।
धनकुटाको सहिद भूमि गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षभित्र प्रदेशभरका करिब ५०० विद्यालयमा भवन निर्माण र प्रविधिमैत्री पूर्वाधार स्थापना गरिने बताए। उनले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा यो कार्यक्रम अगाडि बढाइने स्पष्ट पारे।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनले सहिद भूमि गाउँपालिका–६ मा निर्माण गरेको ठाकुरदेवी माध्यमिक विद्यालयको आठ कोठे नयाँ भवनको उद्घाटनसमेत गरे। करिब ९२ लाख रुपैयाँ लागतमा तयार भएको सो भवनको निर्माणपछि सो पालिकाका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन फाउन्डेसनले प्रतिबद्धता जनाएको छ।
सो अवसरमा सहिद भूमि गाउँपालिका र खेतान फाउन्डेसनबीच पालिकालाई नमुना पालिका बनाउने उद्देश्यले ३ अर्ब रुपैयाँको लगानी सम्झौतापत्रमा हस्ताक्षर पनि गरिएको छ। उक्त लगानी विद्यालय, स्वास्थ्य चौकी, लघु उद्यमशीलता र सडक कालोपत्रेमा प्रयोग गरिनेछ।
मुख्यमन्त्री कार्कीले यो कार्यक्रम केवल विद्यालय निर्माणमा सीमित नभई कोशी प्रदेशमा शिक्षाको गुणस्तर सुधार र अवसर विस्तारमा माइलस्टोन सावित हुने दाबी गरे। उनले भने, “हामीले आज शिक्षा क्षेत्रमा दीर्घकालीन रूपान्तरणको यात्रा सुरु गरेका छौं, यो केवल भवन होइन, भविष्य निर्माणको आधार हो।”
खेतान फाउन्डेसनका संस्थापक सीपी खेतानले कोशी प्रदेशमा शिक्षा सुधारका लागि यो साझेदारीले ठूला परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनका अनुसार, प्रदेशका सबै हिमाली र पहाडी जिल्लामा प्रविधिमैत्री शिक्षाको पहुँच विस्तार गर्न यही आर्थिक वर्षभित्र कानुनी प्रक्रिया पूरा गरी कार्यान्वयन सुरु गरिनेछ।
स्थानीय बासिन्दाले भने यो सम्झौताबाट धनकुटाको सहिद भूमि गाउँपालिका, जहाँ २०३६ सालको खोकु–छिन्ताङ हत्याकाण्डपछि विकासका अवसर रोकिएका थिए, अब शैक्षिक र भौतिक विकासको नयाँ केन्द्र बन्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया