कोशी एक्सिलेन्स अवार्ड–२०२६: तीन नयाँ विधासहित तयारी सुरु

आइतबार, ०७ मंसिर २०८२

इटहरी : आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। 

कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।

आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान्ने स्तरमा उकास्ने तयारी गरिएको छ।

यो अवार्ड गतसाल नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित हुँदै आएको थियो। तर यस वर्षदेखि नवनिर्मित नयन मिडिया फाउन्डेशनमार्फत कार्यक्रम आयोजना हुने फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष  अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “हामीले अवार्डको संरचना, विधा विस्तार, निर्णायक छनोट प्रक्रिया र समग्र व्यवस्थापनलाई अझ बढी व्यवस्थित, पारदर्शी र मर्यादित बनाएका छौँ । यो अब कोशीको मात्र नभई नेपालकै प्रतिष्ठित अवार्ड बन्नेछ ।”

गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी, इन्स्योरेन्स लगायत करिब दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो। यस वर्ष भने अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट नामका गरी तीन नयाँ विधा थपिएको छ। अघिल्लो वर्षकै कार्यक्रममा ती क्षेत्रका तर्फबाट अवार्ड समावेश गर्नुपर्ने माग बढेपछि विधा थपिएको फाउन्डेसनले जनाएको छ।

अवार्डलाई थप विश्वासिलो, मर्यादित र राष्ट्रियस्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको छ।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर महाप्रसाद अधिकारीलाई प्रमुख सल्लाहकार र संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा ४ सदस्यीय निर्णायक मण्डल गठन गरिएको अध्यक्ष अधिकारीले बताए। 

समितिले अवार्ड प्राप्तकर्ता छनोट प्रक्रियालाई तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको जनाएको छ। कोशी प्रदेश सरकारले ‘भ्रमण वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ। अध्यक्ष अधिकारीका शब्दमा—“यो कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउनेछ। कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने हाम्रो लक्ष्य छ।”

गत वर्षका अवार्ड विजेताहरू


शिक्षा : प्रा.डा. टङ्क न्यौपाने

स्वास्थ्य : ज्ञानेन्द्रमान सिंह कार्की

साहित्य : झमककुमारी घिमिरे

बैंकिङ : ज्ञानेन्द्र ढुङ्गाना (तत्कालीन सिइओ, नबिल बैंक)

पर्यटन : भविष श्रेष्ठ

कर्पोरेट : महेश जाजु

आइटी : राजन लम्साल

स्टार्टअप : आयुष भगत

कृषि उद्यम : शान्ता बास्कोटा

सामाजिक अभियन्ता : गीता गौतम

खेलकुद : दिलिप राई

पत्रकारिता : विष्णु निस्ठुरी

त्यस्तै विशेष योगदानकर्तामध्ये— पूर्वगर्भनर महाप्रसाद अधिकारी, नेपालकै पहिलो महिला मुख्यसचिव लीला गडतौला, टाइम्स पब्लिकेशनका सिइओ पुरुषोत्तम दाहाल, मजदुर नेता भीमराई ज्वाला, पर्यटनकर्मी सुनिल भुसाल, माया घर नेपाल, कामधेनु दुग्ध विकास सहकारी लगायत अन्य व्यक्तित्व तथा संस्थालाई विशिष्ट सम्मान प्रदान गरिएको थियो।

गत वर्षको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, मन्त्रीहरू, प्रदेश सचिव, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। 

यस वर्षको कार्यक्रमलाई प्रदेश–मात्र नभई राष्ट्रिय स्तरमै प्रभावशाली बनाउने लक्ष्यसहित तयारी अघि बढाइएको आयोजकले जनाएको छ। कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गरिरहेको छ। अवार्ड कार्यक्रम एक राष्ट्रिय टेलिभिजन र कोशी प्रदेशका तीन टेलिभिजनसहित विभिन्न अनलाइन पोर्टलमार्फत एकैसाथ प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

एक्सिलेन्स अवार्ड नयन एडभरटाइजिंग मिडियाद्वारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो बार्षिकोत्सबको अवसर पारेर गतसाल आयोजना गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार