गरिमा विकास बैंकद्धारा १९औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

आइतबार, ०७ मंसिर २०८२

इटहरी । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभर १९ स्थानमा विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। यस अन्तर्गत बैंकले ८ स्थानमा बृहत रक्तदान कार्यक्रम सञ्चालन गर्दै कुल ६०२ युनिट रगत संकलन गरेको जनाएको छ।

प्रदेश नं. १ अन्तर्गत, बिराटचोक शाखाले सुकुना बहुमुखी क्याम्पसमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ भने इटहरी शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। इटहरीमा सम्पन्न कार्यक्रम आदरणीय श्री चन्द्रबहादुर बस्नेतले उद्घाटन गरे भने शाखा प्रमुख श्री योगेन्द्रकुमार गच्छदारको अध्यक्षता र क्षेत्रीय प्रमुख श्री दिपेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा ७५ पिन्ट रगत संकलन भएको थियो।

त्यसैगरी, बैंकले देशका विभिन्न १६ स्थानका विद्यालयहरूमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन वितरण गरेको छ। साथै, श्री निस्कोट स्वास्थ्य चौकी (म्याग्दी) लाई सरसफाइ सामग्री, मातातिर्थ वृद्धाश्रम समिति (चन्द्रागिरी, काठमाडौं) लाई खाद्यान्न, र सत्य साई राष्ट्रिय परिषद् नेपाल (चितवन) लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ।

विकास बैंकले “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नाराका साथ हिजो २०८२ मंसिर ६ गते दोश्रो संस्करणको धावक प्रतियोगिता समेत सम्पन्न गरेको थियो, जसमा १,००० भन्दा बढी धावकको सहभागिता रहेको थियो। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई आगामी दिनमा पनि प्राथमिकतामा राख्दै निरन्तरता दिने र हरेक वर्ष यस किसिमको  प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ।

बैंकले वित्तीय सेवा मात्र नभई सामाजिक सेवामा समेत सक्रिय भूमिका खेल्दै जिम्मेवार बैंकिङको भावना अनुरूप आफ्ना गतिविधिहरू अघि बढाइरहेको जनाएको छ। साथै, यस सफलतामा साथ दिने सेवाग्राही, शेयरधनी, नियमनकारी निकाय, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार