विराटनगर : सुनसरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित आइतबार दिउँसो २ जना पक्राउ परेका छन् । सप्तरीको राजगढ गाउँपालिका–३ का २९ का दिलिपकुमार मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका–६ का २३ को शिवदत्त मण्डल पक्राउ परेका हुन् ।
उनीहरुलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा नगरपालिका–४ स्थित पूर्व बस स्टेण्डनजिकबाट पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
त्यस क्रममा दिलिपकुमार मण्डलको साथबाट २ वटा बट्टाभित्र प्लास्टिकको पोकामा प्याक गरेर राखिएको लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तु २ सय २ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको र लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया