सुनसरी काँग्रेस सभापतिमा सञ्जय श्रेष्ठको उम्मेदवारी घोषणा

एकता र विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता

विहीबार, ०३ पुस २०८२

इनरुवा : नेपाली काँग्रेस सुनसरी जिल्लाको राजनीतिमा नयाँ उत्साह र जोश थप्दै सञ्जय श्रेष्ठले जिल्ला कार्यसमिति सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

१५औँ जिल्ला अधिवेशनलाई लक्षित गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारीलाई पार्टीको एकता, सहकार्य र जिल्लाको समग्र विकाससँग जोडेका छन्।

 श्रेष्ठ सुनसरी काँग्रेसका एक अनुभवी र समर्पित नेता हुन्। इनरुवा निवासी श्रेष्ठ लामो समयदेखि पार्टीको सङ्गठनात्मक काममा सक्रिय छन्। उनी सुनसरी काँग्रेसको सङ्गठन विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् भने जिल्लाको उपसभापति पदमा पनि मनोनीत भइसकेका छन्।

१४औँ महाधिवेशनमा हालका सभापति केदार भण्डारीसँग सभापति पदका लागि कडा प्रतिस्पर्धा गरेका श्रेष्ठले झिनो मतको अन्तरले पराजय बेहोरेका थिए। त्यसबेला उनी संस्थापन समूहबाट उम्मेदवार बनेका थिए र पार्टीका कार्यकर्ताबिच लोकप्रियता कमाएका थिए।

श्रेष्ठको राजनीतिक यात्रा पार्टीको आधारभूत तहबाट सुरु भएको हो, जसमा स्थानीय तहदेखि जिल्लास्तरीय सङ्गठन सुदृढीकरणमा उनको योगदान उल्लेखनीय छ। 

श्रेष्ठले भने, "सुनसरी काँग्रेसका सबै नेता, कार्यकर्ता र समर्थकहरूलाई एकता, सहमति र सहकार्यमा जोडेर जिल्लामा बलियो पार्टी सङ्गठन निर्माण गर्ने मेरो मुख्य योजना छ। पार्टीको एकता नै यसको शक्ति हो, र कार्यकर्ताहरूको भावना र आग्रहअनुसार म पुनः सभापति पदका लागि दाबेदार बनेको छु।"

उनले सुनसरीमा काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने लक्ष्य राखेका छन्, जसका लागि जिल्लाका १२ वटै स्थानीय तहहरू—उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकासहित वडा स्तरमा विजयी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसबाहेक, जिल्ला समन्वय समिति, प्रदेशसभा सदस्य तथा सङ्घीय सांसदका उम्मेदवारहरूलाई जिताउने रणनीति पनि उनले प्रस्तुत गरेका छन्।

नेपाली काँग्रेसको १५औँ जिल्ला अधिवेशनको कार्यतालिका अनुसार यो अधिवेशन २०८२ पुस २२ गते हुने तय भएको छ। यो अधिवेशनले सुनसरी काँग्रेसको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।

श्रेष्ठको उम्मेदवारीले पार्टीभित्र नयाँ ऊर्जा थपेको छ, विशेष गरी युवा कार्यकर्ताहरूबिच। उनी भन्छन्, "सुनसरीको विकास र समृद्धिका लागि काँग्रेसको भूमिका निर्णायक हुनेछ। हामीले स्थानीय समस्याहरू जस्तै बाढी नियन्त्रण, शिक्षा, स्वास्थ्य र रोजगारीमा फोकस गरेर अघि बढ्नुपर्छ।"

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार