विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार भित्री सडक खण्ड भएर गोलगाउँबाट कासीजामतिर जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई हिजो (बिहीबार) राति ८ः१५ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा साइकल यात्री सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको मृत्यु भएको जानकारी उनले दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ८ः४५ बजेतिर मृत घोषणा गरिदिएका छन् । इन्स्पेक्टर न्यौपानेका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक सुनवर्षी–४ का २७ वर्षीय अकलेशकुमार मण्डल घाइते भएका छन् ।
मध्यम अवस्थाका उनलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको छ । मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका–३ कौशल्या चोकमा रोकेर राखेको गाडीमा मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । सडकमा रोकेर राखिएको को १ क २६१८ नम्बरको गाडी (सिमेन्ट घोल्ने मेसिन)मा विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको को ४० प १९२५ नम्बरको मोटरसाइकल राति ९ः२० बजेतिर ठोक्किएर दुर्घटनामा परेको थियो ।
पछाडिबाट मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक ग्रामथान–१ का ४० वर्षीय सन्तोषकुमार माझी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । दुवै सवारीसाधन तथा गाडीका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया