विराटनगर : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । निर्वाचन प्रक्रिया अघि बढिसकेकाले अब कुनै पनि बहानामा चुनाव रोक्ने वा सार्ने विकल्प नरहेको उनले बताए ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भट्टराईले दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको र माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने कार्यतालिका रहेकाले निर्वाचनबाट पछि हट्ने अवस्था नरहेको जनाए ।
फागुन २१ गते तराई क्षेत्रमा होली तथा हिमाली जिल्लामा सम्भावित हिमपातजस्ता व्यावहारिक कठिनाइ रहेको स्वीकार गर्दै उनले निर्वाचन आवश्यक परे चरणबद्ध रूपमा सञ्चालन गर्न सकिने सुझाव दिए ।
‘काठमाडौँ उपत्यकाजस्ता सहज क्षेत्रमा पहिलो चरणमा र मौसम प्रतिकूल हुने हिमाली तथा तराईका जिल्लामा दोस्रो वा तेस्रो चरणमा गरेर भए पनि फागुनमै चुनाव हुनुपर्छ,’ भट्टराईले भने ।
देशलाई लामो समयसम्म सङ्क्रमणकालमा राख्दा संविधान र लोकतन्त्रमाथि नै सङ्कट आउन सक्ने चेतावनी दिँदै उनले संसदीय प्रणालीलाई जीवित राख्न निर्वाचन नै एकमात्र विकल्प रहेको बताए ।
प्रतिक्रिया