ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले यसअघिको कार्यतालिका संशोधन गर्दै नयाँ मिति तोकेको हो ।
बैठकले “विधानबमोजिम समयमै नियमित १५औँ महाधिवेशन वा विशेष महाधिवेशन” को माग अब औचित्यहीन भइसकेको स्पष्ट निष्कर्ष निकालेको छ । मिति २०८२ मंसिर १५ गते नै १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित भई प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको बहस स्वतः समाप्त भएको कांग्रेसको ठहर छ ।
निर्वाचन पहिलो प्राथमिकता
केन्द्रीय कार्यसम्पादन समितिले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टीका सबै तह— केन्द्रदेखि टोलसम्म— पूर्ण रूपमा निर्वाचनमा केन्द्रीत हुनुपर्ने निर्णय गरेको छ । पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरिसकेको र समानुपातिकतर्फको बन्दसूचीसहित मनोनयन दर्ता भइसकेको उल्लेख गर्दै, संगठन परिचालनमार्फत कांग्रेसको पक्षमा बहुमत दिलाउन अपील गरिएको छ ।
क्रियाशील सदस्यता र अधिवेशनको विस्तृत तालिका सार्वजनिक
बैठकले महाधिवेशनको आधार मानिने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि विस्तृत समयतालिका सार्वजनिक गरेको छ ।
– नयाँ क्रियाशील सदस्यताको सूची एक निर्वाचन क्षेत्र भएका जिल्लाले माघ ३, बहु–निर्वाचन क्षेत्र भएका जिल्लाले माघ १० भित्र केन्द्रमा पठाउनुपर्नेछ ।
– उजुरी छानबिन, पुनरावेदन र अन्तिम सूची फागुन १० भित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ ।
यसैगरी,
विशेष परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेस विधान २०१७ (संशोधनसहित) को धारा ४३ प्रयोग गरी पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू तथा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।
तर, निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन् ।
बैठकपछि महामन्त्री थापाले आफूहरूले औपचारिक रूपमा फरक मत राखेको जानकारी दिएका छन् ।
‘बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नुभयो । धारा ४३ प्रयोग गरेर प्रस्ताव ल्याइयो । हामीले फरक मत राख्यौँ तर प्रस्ताव बहुमतले पारित भयो,’ थापाले बताए ।
महामन्त्री थापाले पार्टी विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने अडान पनि दोहोर्याए ।
प्रतिक्रिया