काठमाडौं : देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदै छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि जीवन त्याग गर्ने चार अमर सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित अन्य सहिदहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा तत्कालीन सरकारले उनीहरूलाई मृत्युदण्ड दिएको थियो । ती सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना हुन सकेको हो ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका साथै विभिन्न कालखण्डमा स्वतन्त्रता, लोकतन्त्र र परिवर्तनका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदहरूको सम्मानमा मनाइन्छ ।
यसै अवसरमा माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह घोषणा गरी देशभर विविध कार्यक्रम आयोजना गरिँदै आएको छ । विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको इतिहास छ ।
स्वतन्त्रताको माग गर्दै आन्दोलनमा सक्रिय रहेका सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा तथा माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथचन्द्र ठाकुरलाई शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
प्रतिक्रिया