बराहक्षेत्रमा ट्र्याक्टरको ट्रलीबाट हाम्फाल्दा महिलाको मृत्यु

शुक्रबार, १६ माघ २०८२

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ खुनगाउँस्थित भित्री सडक खण्डमा बिहीबार दिउँसो ट्र्याक्टरमा अचानक आगलागी हुँदा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। आफ्नै घरका लागि माटो ल्याउँदै गरेको तत्काल नम्बर प्लेट नदेखिएको ट्र्याक्टरको इन्जिनमा करिब ३:४० बजे अचानक आगो लागेको प्रहरीले जनाएको छ।

आगो लागेपछि ट्र्याक्टर चालक बराहक्षेत्र नगरपालिका–४ बस्ने करिब ६० वर्षीय रामेश्वर मुसहरले ट्र्याक्टर रोकेर पानी छ्याप्दै आगो निभाउने प्रयास गरेका थिए। 

सोही क्रममा ट्र्याक्टर अचानक अनियन्त्रित भई खेततर्फ गुड्न थालेपछि ट्रलीमा बसिरहेकी उनकी श्रीमती करिब ५५ वर्षीया फुलिया देवी सदा अत्तालिएर ट्रलीबाट हाम्फाल्दा लडेर गम्भीर घाइते भएकी थिइन्।

 घाइते फुलियादेवीलाई उपचारका लागि तत्काल धरानस्थित घोपा अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो ४:२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतकको शव सोही अस्पतालमै राखिएको छ। आगलागी स्थानीयको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको छ भने ट्र्याक्टर घटनास्थलमै रहेको छ।

घटनास्थल ट्राफिक पोस्ट चक्रघट्टीबाट करिब ८ किलोमिटर पूर्वतर्फ पर्छ। घटनाको समयमा ट्र्याक्टर चालकले मदिरा सेवन गरेको नदेखिएको, तर ट्र्याक्टरको कागजात खुल्न नसकेको र इन्जिनमा अचानक आगलागी हुनु नै घटनाको कारण रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार