नेपाल पत्रकार महासङ्घ उदयपुर शाखा सदस्य गजेन्द्र राईको रिहाइ भएको छ । उनलाई समाचार प्रकाशित गरेको विषयमा रिपोर्टिङकै सिलसिलामा उदयपुर प्रहरीले पक्राउ गरेको थियो।
समाचार लेखेकै आधारमा ‘साइबर क्राइम’अन्तर्गत अभियोग लगाई उदयपुर प्रहरीले रिपोर्टिङकै सिलसिलामा नियन्त्रणमा लिएर काठमाडौं पठाएको थियो।
पत्रकार राईले ‘नातामा ससुरा–बुहारीबीच अनैतिक सम्बन्ध’को भएको आरोप लगाउँदै स्थानीय बासिन्दाहरूले दिएको प्रमाण, आधार तथा आरोपितद्वयको स्वीकारोक्तियुक्त कागजसमेत प्राप्त गरेका आधारमा भिडियो सामग्री प्रकाशित, प्रसारित गरेका थिए।
पत्रकार महासंघ उदयपुरकी उपाध्यक्ष गंगा राईका अनुसार नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज र नेपाल फोटो पत्रकार महासंघलगायत संघसंस्थाहरूले रिहाइ नभए अनिश्चितकालीन आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए।
अदालतमा थुनछेकको बहसपछि राई ५० हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका हुन्। पत्रकार राईको रिहाइको माग गर्दै बुधवार नेपाल पत्रकार महासङ्घ सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्तिपूर्ण धर्ना दिनुका साथै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।
उनी पत्रकार महासंघ उदयपुरका निवर्तमान सहसचिव, रेडियो नेपालका उदयपुर संवाददाता, फोटो पत्रकार, महासंघका केन्द्रीय सचिव तथा फोनिजका केन्द्रीय सदस्य पनि हुन्। उनले उदयपुरमा निगरानी पोस्ट डटकम सञ्चालन गरिरहेका छन्।
प्रतिक्रिया