इलाम–२ मा १२ वर्षअघि पितासँग चुनाव लडेका आचार्यसँग भिड्दै सुहाङ नेम्वाङ

सोमबार, २६ माघ २०८२

इलाम : २०७० सालको संविधान सभा निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग चुनाव हारेका नेपाली कांग्रेसका भेषराज आचार्य यसपटक सुवासकै छोरा सुहाङ नेम्वाङसँग चुनावी प्रतिस्पर्धामा छन्।

दोस्रो संविधान सभा निर्वाचनमा आचार्य नेम्वाङसँग २ हजार १ सय १२ मतले पराजित भएका थिए। त्यो बेला एमालेका सुवासचन्द्र नेम्वाङले १४ हजार ९ सय ३० मत प्राप्त गर्दा कांग्रेसका आचार्यले १२ हजार ८ सय २८ मत पाएका थिए।

सुवासचन्द्र नेम्वाङसँग १२ वर्षअघिका प्रतिस्पर्धा गरेका आचार्य र सुहाङ बिच यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। उनीहरूबिचको प्रतिस्पर्धा कस्तो हुने हो ? भन्ने विषय इलामका चोकदेखि चौतारा हुँदै चिया गफसम्म चर्चा पाउन थालेको छ। माघ ६ गते उम्मेदवारी दर्ता गराएसँगै आचार्य र नेम्वाङसहित १४ जना उम्मेदवारले इलाम–२ का मतदाता भेट्न सुरु गरेका छन्।

उम्मेदवारहरू मतदाता भेट्न व्यस्त छन् भने मतदाताहरू उम्मेदवारका बाचा सुन्दै उनीहरूको एजेन्डा र कार्यक्रमको मूल्याङ्कन गरिरहेका छन्। यद्यपि अधिकांश दलले आफ्नो प्रतिबद्धता, एजेन्डा र घोषणा पत्र सार्वजनिक गरेका छैनन्।

इलाम–२ मा लगातार चुनाव जितेका संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनपछि २०८१ साल वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा उनका छोरा सुहाङ नेम्वाङ निर्वाचित भएका थिए। त्यो बेला उनलाई तत्कालीन नेकपा माओवादी लगायतका कम्युनिस्ट पार्टीहरूले समर्थन गरेका थिए। सो निर्वाचनमा सुहाङसँग प्रतिस्पर्धा गर्ने कांग्रेसका उम्मेदवार डम्बर खड्का थिए।

यस पटक दोस्रो चोटि चुनाव लड्दा सुहाङ १२ वर्षअघि आफ्नै पितासँग चुनाव लडेका आचार्यसंग प्रतिस्पर्धा हुन लागेको हो। सुहाङ १६ महिनाको संसदीय अभ्यासमा गरेको काम र जिल्लाका लागि गरेका प्रयासले पनि यसपटक मतदाताको साथ पाउने विश्वास व्यक्त गरेका छन्।

१२ वर्षअघि आफ्नै पितासँग हार बेहोरेका नेपाली कांग्रेसका आचार्य यसपटक एमालेका मुख्य प्रतिस्पर्धी हुन्। २०४८ पछिका प्रत्येक निर्वाचनमा इलाम–२ मा कांग्रेस दोस्रो हुँदै आएको थियो। पार्टी नेतृत्व बदलिएको सन्दर्भमा आचार्य यसपटक नतिजा आफ्नै पक्षमा पार्ने दाउमा छन्।

इलामको सामाजिक र राजनीतिक क्षेत्रमा लामो समय योगदान गर्दै आएका आचार्यले अघिल्लो निर्वाचनमा एमालेसँग सहकार्य गरेका कम्युनिस्ट घटक र आफ्नो दल एक्लै प्रतिस्पर्धामा रहेकाले चुनाव जित्न सजिलो हुने टिप्पणी गरेका छन्।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत प्राप्त गरी विजयी भएका थिए। सो बेला कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए, जसको मतान्तर झिनो ११४ मात्र थियो।

त्यसअघि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि नेम्वाङले कांग्रेस उम्मेदवार केशव थापालाई पराजित गरेका थिए। त्यहाँ माओवादी केन्द्रसँगको बाम गठबन्धनले चुनाव लडेका कारण नेम्वाङले ३६ हजार ६१७ मत पाएका थिए भने कांग्रेसका थापालाई २६ हजार ८६५ मत मात्र प्राप्त भएको थियो।

अनुभवी नेता आचार्यले २०७९ को झिनो मतान्तर उल्ट्याएर विजयी हुने दाउमा रहेका छन्। यस क्षेत्रमा करिब १ लाख १९ हजार ४८९ मतदाता छन्।

स्थानीय र अघिल्ला निर्वाचनको मतपरिणाम अनुसार यसपटक पनि मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेबीच हुने देखिन्छ। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले पनि सङ्गठन विस्तार र चुनाव केन्द्रित गतिविधि तीव्र बनाएका कारण दुवै पार्टीको मत केही हदसम्म घट्ने सम्भावना छ।

यसअघि उपनिर्वाचनमा सुहाङलाई तत्कालीन नेकपा माओवादीको समर्थन थियो, तर अहिले माओवादीसहितको गठबन्धनमा रहेका दलबाट पनि नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार चुनावी मैदानमा छन्।

संविधान सभा अध्यक्ष तथा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनपछि भएको २०८१ को उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए।

सो निर्वाचनमा एमालेका सुहाङको मतान्तर ५ हजार ७८० मत थियो। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो स्थानमा रहेका थिए।

यस पटक नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ, श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश दुलालसहित १४ जना उम्मेदवार मैदानमा छन्। मुख्य प्रतिस्पर्धा भने अझै आचार्य र सुहाङ नै हुने देखिन्छ।

प्रतिक्रिया

लक्ष्मी गौतम
लेखकको बारेमा
लक्ष्मी गौतम
जिल्ला संवाददाता

लेखक ३ दशक अघिदेखि पाँचथर जिल्लामा रहेर सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार