इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–११ ढाकी टोलमा आज (मङ्गलवार) बिहान आगलागी हुँदा एक कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बिहान ६ बजे डम्बर प्रधानको टिन छानो र टाटी बेरा भएको भुईँ तल्लाको कच्ची घरमा अचानक आगो लागेको थियो । सो खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय विराटचोकबाट प्रहरी सहायक निरीक्षक गोविन्द सापकोटाको कमाण्डमा टोली खटिएको थियो ।
प्रहरी, सुन्दरहरैँचा नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो बिहान ०६ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेको चाँदी १० तोला, धान १० मन जलेर नष्ट भएको छ । साथै खोरमा रहेका एक वटा खसी, दुई वटा बाख्रा र सात वटा कुखुरा जलेर मरेका छन् ।
प्रहरीका अनुसार आगलागीबाट करिब दुई लाख रुपैयाँ बराबरको धनमाल क्षति भए पनि मानवीय क्षति भने भएको छैन । कसरी आगो लाग्यो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया