दुर्घटनामा परी झापामा २५ दिनमा १८ जनाको मृत्यु

सोमबार, २६ माघ २०८२

झापा : झापाका सडकहरू पछिल्लो समय दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार माघ १ गतेदेखि २५ गतेसम्मको छोटो अवधिमै सवारी दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाइसकेका छन्।

यो संख्या झापामा सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाउने खालको छ। विशेषगरी अर्जुनधारा क्षेत्रमा दुर्घटनाको श्रृंखला रोकिएको छैन। आइतवार, अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा भएको ट्रयाक्टर दुर्घटनाले फेरि एक परिवार शोकमा डुबाएको छ।

बालुवा लोड गरेर अघि बढिरहेको प्र१–०१–००१त ९०१० नम्बरको ट्रयाक्टरको डालामा सवार १६ वर्षीय सरोज श्रेष्ठ खस्दा पछाडिको चक्काले किचेर उनको मृत्यु भयो। सरोज अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका छोरा हुन्।

त्यसै दिन अर्का एक दुर्घटनामा घाइते भएका अर्जुनधारा–३ का ४५ वर्षीय राजन बास्कोटाले पनि उपचारकै क्रममा ज्यान गुमाए। तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका बास्कोटाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको बेला मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

घटना माघ २१ गते बिहान ६ः३० बजे गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा भएको थियो। बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका बास्कोटालाई ठक्कर दिएको थियो। स्कुटी चालक, इलाम माई नगरपालिका–३ की ३५ वर्षीया अमृता राई, प्रहरी नियन्त्रणमा छन्।

यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो। त्यस्तै, माघ १ गते एकैदिन तीन जनाको ज्यान गएको तथ्याङ्क पनि छ। त्यसयता झापामा लगभग दिनहुँजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

सडक अनुशासन, सवारीको अवस्था र सचेतनामा गम्भीर सुधार नगरे झापामा दुर्घटनाको यो क्रम अझ भयावह बन्न सक्ने संकेत देखिन थालेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार