आयोजनाहरुले गरिबी निवारणमा ध्यान दिनुपर्छः मुख्यमन्त्री कार्की

मंगलबार, १९ बैशाख २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरुले उत्पादकत्व वृद्धि गरी गरीवी निवारण र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने बताएका छन् । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँ सराईलाई रोक्न पनि आयोजना सफल हुने विश्वास व्यक्त गरे । उनले विगतमा धेरै आयोजनाहरु सञ्चालन भएपनि तिनले प्रभावकारी काम गर्न नसकेको चर्चा गर्दै ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ले आयोजना क्षेत्रका किसानको जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्नुपर्ने बताए । आयोजना सफल पार्न निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्ने सुझाव दिदै सरकारी क्षेत्रको मात्र सहयोगमा आयोजना सफल हुन नसक्ने कार्कीले उल्लेख गरे । आयोजनाले काम गर्दै जाँदा बजारीकरण लगायतका अनेक समस्या आउने भएकाले ती समस्याको समाधान गर्न निजी क्षेत्र अपरिहार्य भएको मुख्यमन्त्री कार्कीको भनाई थियो । पहाडी क्षेत्रका विभिन्न ३४ जिल्लालाई कार्य क्षेत्र बनाएर सञ्चालनमा आएको उक्त आयोजनाले स्याउ, एभोकार्ड लगायतका फलफूल उत्पादनमा लगानी गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार