जारी विश्वकपमा अपराजित चार टिममध्ये इंग्ल्याण्ड पनि एक हो । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनलसम्म पनि पुग्न सकेको छैन । इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप उपाधि घर ल्याउने लक्ष्यसहित कतार पुगेको छ । तर चार वर्षअघि सेमिफाइनलमा पराजित भएको इंग्ल्याण्डले यस पटक साविक विजेता फ्रान्ससँग क्वाटरफाइनलमा भिड्नु पर्नेछ ।
अन्तिम १६ सम्म अपराजित इंग्ल्याण्डले त्यही लयलाई निरन्तरा दिँदै फ्रान्सलाई चुनौती दिने लक्ष्यमा छ । समूह चरणमा दुई जित र एक बराबरीको नतिजासहित इंग्ल्याण्ड समूह बी को विजेता बनेको थियो । पहिलो खेलमा इरानलाई ६-२ ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । तर तेस्रो खेलमा छिमेकी वेल्सलाई ३-० ले हराउँदै इंग्ल्याण्ड समूह विजेता बन्यो ।
अन्तिम १६ मा सेनेगललाई ३-० ले हराएर इंग्ल्याण्डले विपक्षीलाई सजग गराएको छ । ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डका लागि यस पटक मार्कुस रासफोर्ड र जुड बेलिङ्घमले उत्कृष्ट प्रदर्शान गरिरहेका छन् । साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदार मध्ये एक हो । १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा रहेको फ्रान्सलाई यस पटक चोटले पिरल्यो । चोटकै कारण विश्वकपअघि देखि विश्वकप सुरु हुँदासम्म फ्रान्सका ५ खेलाडीले विश्वकप गुमाए ।
फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ ले र दोस्रो खेलमा डेनमार्कलाई २-१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १-० ले पराजित भएको थियो । अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले हराएर फ्रान्सले लयमा फर्केको संकेत गरिसकेको छ ।
प्रतिक्रिया