धरानमा आगलागी हुँदा अढाई करोडको क्षति

शनिबार, २४ मंसिर २०७९
धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित एक घरमा शुक्रबार राति आगलागी हुँदा एक होटल र तीन औषधि पसल जलेर खरानी भएको छ । धरानस्थित इलाका प्रहरी कार्यालयका अनुसार आगलागीबाट २ करोड ५० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । आगलागी भएको स्थान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य प्रवेशद्वार अगाडि पर्छ । आगलागीबाट मिनु बान्तवाको मिनु बान्तवा होटलको ३० लाख रुपैयाँ, लक्ष्मण खड्काको निको ट्रेड सप्लायर्स र निको मेडिकल पसलको १ करोड २० लाख रुपैयाँ, अरुण साहको फ्रेन्डस फार्मेसीको ९० लाख रुपैयाँ बराबरको औषधि क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी भएको घर महेश तामाङको भएको प्रहरीले जनाएको छ । सुन्दरबजारमा विश्वकप हेर्नका लागि बाहिर तयारी भइरहेका बेला काठको घरमुनी सटर लगाएको कोठा भित्रबाट धुवाँ निस्कन थालेपछि स्थानीयहरुले देखेका थिए । धरान उपमहानगरपालिकाको दुइटा दमकलले आगो नियन्त्रण गर्न नसकेपछि इटहरी र बराहक्षेत्रबाट पनि दमकल बोलाइएको थियो । प्रहरीले विद्युट् सर्ट भएर आगोलागी भएको आशंका गरेको छ । राति करिब साढे ९ बजेदेखि लागेको आगो नियन्त्रण गर्न ८ वटा दमकललाई करिब तीन घण्टा लागेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार