भारतको ओडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या झण्डै ३ सय

आइतबार, २१ जेठ २०८०
भारतको ओडिसा राज्यस्थति बालासोरमा शुक्रबार राति भएको रेल दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या दुई सय ८८ नाघेको छ । उक्त दुर्घटनामा ९ सयभन्दा बढी मानिस घाइते भएका छन् । भारतीय रेल्वेका अनुसार शुक्रबार साँझ ३ वटा रेल आपसमा ठक्कर खाँदा भयानक दुर्घटना भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एउटा मालवाहक रेलसँग ठक्कर खाएपछि हावडाबाट चेन्नई जाँदै गरेको कोरोमन्डल एक्सप्रेसका डिब्बाहरु उछिटि्टएर अर्को लिकमा पुगेका थिए । त्यसपछि सोही लिकबाट आउँदै गरेको बेंग्लुरु-हावडा सुपरफास्ट एक्सप्रेससँग ठोक्किएको थियो । रेलका डिब्बाभित्र फसेका यात्रु र घाइतेहरुको उद्धारका लागि घटनास्थलमा १ सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएका थिए । स्थानीय अस्पतालमा रक्तदान गर्न हजारौं स्वयंसेवक जम्मा भएका थिए । ओडिसा प्रहरीका अनुसार दुई सय ८८ जनाको शव निकालिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको निरीक्षण गरी घटनाको उच्चस्तरीय छानबिनका लागि निर्देशन दिइएको र दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । उनले घाइतेहरुको उपचारका लागि कुनै कसर बाँकी नछाड्ने पनि बताएका छन् । भारत सरकारले दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । त्यसैगरी गम्भीर घाइते हुनेहरुलाई २ लाख क्षतिपूर्ति र सामान्य घाइतेहरुलाई ५० हजार दिइनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार