रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा गरी स्वदेश फर्कँदै गर्दा शान्ति सम्झौता हुन नसके युक्रेनमा लडाइँ जारी राख्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना आफ्ना रुसी र युक्रेनी समकक्षीलाई भेटी युद्धविरामका लागि मध्यस्थता गर्नुभएको थियो, तर राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयासका बावजुद साढे तीन वर्ष लामो युद्ध सुल्झाउने दिशामा हाल प्रगति रोकिएको देखिन्छ ।
पुटिनले ‘सुरुङको अन्त्यमा उज्यालो हुन्छ’ भन्ने आफूले सोचेको तर युद्धविरामका लागि वेवास्ता गरिए युद्ध जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना सेना ‘सबै मोर्चामा अघि बढिरहेको’ दाबी गरे ।
“हेरौं, परिस्थिति कसरी विकसित हुन्छ । यदि त्यसो भएन भने हामीले हाम्रा सबै कार्यहरू सैन्य रूपमा समाधान गर्नुपर्नेछ,” पुटिनले बेइजिङमा पत्रकारहरूसँग सम्झौताको सम्भावनाबारे सोधिएको प्रश्नमा भने ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग तत्काल भेट गर्न अस्वीकार गरेका क्रेमलिन प्रमुखले युक्रेनी नेताको वैधतामाथि प्रश्न उठाए । रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई मस्को आउन निमन्त्रणा दिएको बताएका थिए ।
एक स्रोतले गत अगस्टमा एएफपीलाई दिएको जानकारीअनुसार जेलेन्स्कीले मस्कोमा वार्ताका लागि गरिएको पहललाई अस्वीकार गरेका थिए ।
मस्कोले बुधबार बिहान युक्रेनमा ५०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो र पछि पूर्वी युक्रेनको एक सीमा शहरमा भएको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको थियो ।
प्रतिक्रिया