अमेरिकाका बहुचर्चित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सरकारी गोप्य कागजातको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ ।
आफनो निजी सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्प स्वयंले यसबारे सार्वजनिक गरेका हुन् । आफूलाई मियामीको संघीय अदालतमा मंगलबार हाजिर हुन भनिएको जानकारी गराउँदै ट्रम्पले अमेरिकी पूर्वराष्ट्रपतिविरुद्ध यस्तो पनि सम्भव हुनसक्छ भन्नेबारे आफूले कहिल्यै नसोचेको प्रतिक्रिया जनाएका छन् ।
केही महिनाको अन्तरालमा ट्रम्पविरुद्ध दायर गरिएको यो दोस्रो मुद्दा हो । ट्रम्पको मार-अ-लागोस्थित निवासमा सरकारी गोप्य कागजात फेला परेको विषयलाई लिएर उनीविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको र उनीमाथि सातवटा आरोप लगाइएको सीएनएनले जनाएको छ ।
ट्रम्पमाथि सरकारी गोप्य कागजात अनधिकृत रुपमा आफूसँग राखेको र न्याय प्रक्रियामा अवरोध पुर्याएकोलगायत आरोप लगाइएको जनाइएको छ । संघीय न्याय मन्त्रालयले ट्रम्पविरुद्ध मुद्दा दायर गरेको हो । ट्रम्पविरुद्ध मुद्दा चलाइएको यो दोस्रोपटक हो भने कुनै पूर्वराष्ट्रपतिविरुद्ध संघीय सरकारले चलाइएको यो पहिलो मुद्दा हो ।
आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा होमिएका ट्रम्पका लागि यो अर्को झट्का भएको विश्लेषण गरिएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले आफू निर्दोष भएको दाबी गरेका छन् ।
गत वर्ष ट्रम्पको फ्लोरिडास्थित रिसोर्ट मार-अ-लागोमा एफबीआईले छापा मारेर ११ हजार थान कागजात जफत गरेको थियो । त्यसमध्ये करिब एक सयवटा कागजमा गोपनीय अर्थात् क्लासिफाइड भनेर लेखिएको थियो । राष्ट्रपति पदबाट रियायर्ड भएपछि पनि सरकारी गोप्य कागजात आफ्नो निजी निवासमा लगेर राखेकाले ट्रम्प अनुसन्धानमा तानिएका हुन् ।
ट्रम्पविरुद्ध गत अप्रिलमा एकजना पोर्न स्टारलाई आफूविरुद्ध मुख नखोल्न दिएको रकमबारे व्यावसायिक खातामा गलत ढंगले हिसाब मिलान गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो ।
प्रतिक्रिया