झापा । बिर्तामोड उद्योग वाणिज्य संघले अनियमित रुपमा हुने विद्युत कटौती रोक्न माग गरेको छ ।
संघका तर्फबाट ज्ञापनपत्र बुझाउँदै विद्युत नियमित रुपमा आपूर्ति गर्न माग गरिएको हो ।
संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहितको टोलीले नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्र पुगेर कार्यालय प्रमुख सुधीरकुमार रायलाई ज्ञापनपत्र बुझाएको हो ।
जेठ दोस्रो साताबाट अत्यधिक गर्मी बढेसँगै विद्युतको आवश्यकता बढेको र बिर्तामोडमा जनघनत्व बढिरहेका बेला विद्युत प्राधिकरणले विद्युतीय उपकरण (तार, ट्रासफर्मर, पोल) लगायतको पनि स्तरवृद्धिसँगै पहुँच बढाउनु पर्ने माग गरिएको छ ।
पछिल्लो समय अनियमित रुपमा हुने विद्युतआपूर्तिका कारण उद्योगी– ब्यवसायी मारमा परेको जनाउँदै यसलाई तत्काल रोक्न माग गरिएको छ ।
ज्ञापनपत्रमा ओभरलोड भएर ट्रासफर्मरमा हुने आगलागी लगायतको क्षति कम गर्नका लागि प्राधिकरणले ट्रासफर्मरको क्षमतामा वृद्धि गर्नुपर्ने र बिर्ताामोड बजार क्षेत्रमा अव्यवस्थित रुपमा गाडिएका तथा छाडिएका बिद्युत पोललाई व्यवस्थित गर्न माग गरिएको छ ।
प्रतिक्रिया