काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सकिएपछि प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने भएका छन् ।
दिउँसो १ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री महतले बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन लागेका हुन् ।
अर्थमन्त्री महतले यही जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल आइतबार सकिएको थियो ।
छलफलमा सहभागी विपक्षी दलका सांसदहरुले अर्थतन्त्रका समस्या समाधान गर्न बजेट असफल भएको टिप्पणी गरेका छन् । नेकपा एमालेले बजेट सच्याउन माग गरेको छ ।
सत्तारुढ दलका अधिकांश सांसदले बजेटप्रति सकारात्मक धारणा राखेका छन् । सत्ता साझेदार दलकै केही सांसदले भने पुँजीगत खर्चको प्रभावकारिता बढाउन सुझाव दिएका छन् ।
अर्थमन्त्री महतले सदनमा उठेका प्रश्नको जवाफ दिइसकेपछि बजेट पारितको प्रक्रियामा जानेछ ।
हिजै (आइतबार) अर्थमन्त्रीले जवाफ दिने भनिए पनि सभामुख देवराज घिमिरेले जवाफका लागि आजलाई एक दिन थप गरिएको जानकारी गराएका थिए ।
प्रतिक्रिया